
काठमाडौं । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भूभागबाट बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बुधबार) मनसुन पूर्ण रूपमा बाहिरिएको हो ।
यसअघि असोज १७ गतेदेखि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पश्चिमी भूभागका अधिकांश स्थान तथा गण्डकी प्रदेशको पश्चिमी भूभागका केही स्थानबाट मनसुन बाहिरिन थालेको थियो ।
नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ भए पनि यस वर्ष १२ दिन ढिलो गरी बाहिरिएको महाशाखाले जनाएको छ ।
मनसुन बाहिरिए पनि स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहन सक्ने भएकाले पछिल्लो मौसमी सूचनाबारे जानकारी लिन महाशाखाले सर्वसाधारण तथा सम्बन्धित सबै निकायलाई अनुरोध गरेको छ ।

























