
काठमाडौं । मनसुन बाहिरिएपछि पनि देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम रहँदा विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बिहीबार) विशेषगरी देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली हुने र केही स्थानमा मेघगर्जनसहित वर्षा हुने अनुमान छ ।
महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यमसम्म वर्षा र हिमपात हुन सक्नेछ । कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।
यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा समेत एक–दुई स्थानमा मध्यमसम्म वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । तराईका अन्य भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ ।
हाल देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहे पनि तराईमा मौसम सामान्यतया खुला रहेको छ । राति हिमाली क्षेत्रमा सामान्यतया बादल लाग्ने र पहाडी क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
तराईमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ । राति हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

























