रास्वपामा टिकटको नयाँ सूत्र : उम्मेदवार छनोटमा ४० प्रतिशतसम्म सदस्यको मत

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २९, बिहीबार ०६:५४

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न आवेदनदेखि प्रारम्भिक निर्वाचनसम्मका विभिन्न चरण समेटिएको रूपरेखा सार्वजनिक गरेको छ ।

बुधबार सार्वजनिक गरिएको ‘उम्मेदवार छनोट रूपरेखा, २०८३’ ले उम्मेदवारको योग्यता, नेतृत्व क्षमता, पार्टीमा गरेको योगदान, स्थानीय सम्बन्ध र समावेशितालाई अंकका आधारमा मूल्यांकन गर्ने व्यवस्था गरेको छ । रूपरेखाअनुसार उम्मेदवार बन्न इच्छुक व्यक्तिले सबैभन्दा पहिले पार्टीको ‘क्यान्डिडेट क्लब’ मा आवेदन दिनुपर्नेछ ।

आवेदनका क्रममा नेपाली नागरिकता, उमेर, सम्बन्धित स्थानीय तहको मतदाता नामावलीमा नाम, शैक्षिक योग्यता र पार्टी सदस्यतासम्बन्धी विवरण परीक्षण गरिनेछ । उम्मेदवारले आवश्यक पर्दा सम्पत्ति विवरण, प्रहरी चारित्रिक प्रमाणपत्र तथा अन्य कागजात बुझाउन तयार रहेको प्रतिबद्धता पनि जनाउनुपर्नेछ ।

उम्मेदवारको सार्वजनिक आचरण र आर्थिक गतिविधिलाई समेत छनोटको आधार बनाइएको छ । घरेलु हिंसा, यौन दुर्व्यवहार, साइबर दुर्व्यवहार, अवैध आर्थिक कारोबार, मिटरब्याज, सट्टेबाजी, हप्ताअसुली, ढुकुटी, हुन्डी तथा सहकारीको बचत अपचलनमा संलग्नताका बारेमा स्वघोषणा गर्नुपर्नेछ । उम्मेदवार बन्न चाहेको पालिका वा वडामा आफ्नो वा परिवारको व्यावसायिक स्वार्थ जोडिएको छ कि छैन भन्ने विवरण पनि खुलाउनुपर्नेछ ।

छनोट प्रक्रियामा नेतृत्व एकेडेमीको मूल्यांकनलाई २५ प्रतिशत भार दिइएको छ । यसबाट स्थानीय सरकार सञ्चालन, सुशासन, सार्वजनिक वित्त, नीति निर्माण, नागरिक सहभागिता र नेतृत्व क्षमताबारे आकांक्षीको बुझाइ परीक्षण गरिनेछ । त्यस्तै, पार्टीसँगको आबद्धता, संगठन विस्तारमा योगदान, विगतको जिम्मेवारी, स्थानीय समुदायसँगको सम्बन्ध, सार्वजनिक छवि र निर्वाचनसम्बन्धी सम्भावनाको मूल्यांकनका लागि थप २५ प्रतिशत भार छुट्याइएको छ ।

प्रारम्भिक निर्वाचनलाई अधिकतम ४० प्रतिशत भार दिइएको छ । सम्बन्धित क्षेत्रमा पार्टी सदस्यको अनुपातअनुसार यसको भार ४०, ३०, २०, १० वा पाँच प्रतिशत कायम हुनेछ । कुल मतदाताको एक प्रतिशतभन्दा कम पार्टी सदस्य भए प्रारम्भिक निर्वाचन नगरिने व्यवस्था छ । मतदानमा ‘नोटा’ विकल्प पनि रहनेछ । नोटाले सबैभन्दा बढी मत पाए सबै आकांक्षीको उम्मेदवारी खारेज गरी नयाँ उम्मेदवार छनोट गरेर पुनः मतदान गरिनेछ ।

समावेशिताका लागि १० प्रतिशत भार छुट्याइएको छ । लैंगिक समानता, उमेर, अपांगता, भौगोलिक विकटता र सामाजिक–आर्थिक पृष्ठभूमिका आधारमा डिजिटल प्रणालीले प्रमाणित विवरणअनुसार अंक गणना गर्नेछ ।

नयाँ सदस्यका लागि पालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षमा आवेदन दिन पहिलोपटक राजनीतिमा आएकाले ४५ दिन तथा अर्को दलबाट आएकाले ९० दिन सदस्यता अवधि पूरा गर्नुपर्नेछ । वडा सदस्यका लागि क्रमशः तीन र सात दिन तोकिएको छ । विशेष क्षमता भएका व्यक्तिलाई ‘ल्याटरल इन्ट्री’मार्फत प्रवेश दिन सकिनेछ ।

यद्यपि, असाधारण परिस्थितिमा केन्द्रीय समितिको तत्काल कायम सदस्य संख्याको कम्तीमा दुईतिहाइ बहुमतबाट फरक छनोट प्रक्रिया अनुमोदन गर्न सकिने व्यवस्था पनि छ । यस्तो अवस्थामा समेत क्यान्डिडेट क्लब, नेतृत्व एकेडेमी र प्रारम्भिक निर्वाचनका आधारभूत प्रक्रिया कायम राख्नुपर्ने रूपरेखामा उल्लेख छ ।

तपाइको प्रतिक्रिया
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
विराटनगरबाट खैरो हेरोइनसहित दुई युवक पक्राउ
झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
धरानमा लागुऔषधका मुद्दा सर्वाधिक, तीन वर्षमा ४०६ घटना प्रहरीमा दर्ता
कांग्रेसको दलित सहमहामन्त्रीमा प्रकाश रसाइलीको शानदार जित
डढेलोले दक्षिणपूर्वी एसिया प्रभावित, सिंगापुरमा प्रदूषण उच्च
रास्वपामा टिकटको नयाँ सूत्र : उम्मेदवार छनोटमा ४० प्रतिशतसम्म सदस्यको मत
विभिन्न प्रदेशका पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
पर्यटक भिसामा मोरङ आएर धर्म प्रचार, २४ कोरियालीलाई तीन वर्ष नेपाल प्रवेशमा रोक
१० राजदूतको बाटो खुल्यो, सुनार अस्वीकृत
नवरात्रको पाँचौं दिन स्कन्दमाताको आराधना, शक्ति र ज्ञान प्राप्तिको कामना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×