
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न आवेदनदेखि प्रारम्भिक निर्वाचनसम्मका विभिन्न चरण समेटिएको रूपरेखा सार्वजनिक गरेको छ ।
बुधबार सार्वजनिक गरिएको ‘उम्मेदवार छनोट रूपरेखा, २०८३’ ले उम्मेदवारको योग्यता, नेतृत्व क्षमता, पार्टीमा गरेको योगदान, स्थानीय सम्बन्ध र समावेशितालाई अंकका आधारमा मूल्यांकन गर्ने व्यवस्था गरेको छ । रूपरेखाअनुसार उम्मेदवार बन्न इच्छुक व्यक्तिले सबैभन्दा पहिले पार्टीको ‘क्यान्डिडेट क्लब’ मा आवेदन दिनुपर्नेछ ।
आवेदनका क्रममा नेपाली नागरिकता, उमेर, सम्बन्धित स्थानीय तहको मतदाता नामावलीमा नाम, शैक्षिक योग्यता र पार्टी सदस्यतासम्बन्धी विवरण परीक्षण गरिनेछ । उम्मेदवारले आवश्यक पर्दा सम्पत्ति विवरण, प्रहरी चारित्रिक प्रमाणपत्र तथा अन्य कागजात बुझाउन तयार रहेको प्रतिबद्धता पनि जनाउनुपर्नेछ ।
उम्मेदवारको सार्वजनिक आचरण र आर्थिक गतिविधिलाई समेत छनोटको आधार बनाइएको छ । घरेलु हिंसा, यौन दुर्व्यवहार, साइबर दुर्व्यवहार, अवैध आर्थिक कारोबार, मिटरब्याज, सट्टेबाजी, हप्ताअसुली, ढुकुटी, हुन्डी तथा सहकारीको बचत अपचलनमा संलग्नताका बारेमा स्वघोषणा गर्नुपर्नेछ । उम्मेदवार बन्न चाहेको पालिका वा वडामा आफ्नो वा परिवारको व्यावसायिक स्वार्थ जोडिएको छ कि छैन भन्ने विवरण पनि खुलाउनुपर्नेछ ।
छनोट प्रक्रियामा नेतृत्व एकेडेमीको मूल्यांकनलाई २५ प्रतिशत भार दिइएको छ । यसबाट स्थानीय सरकार सञ्चालन, सुशासन, सार्वजनिक वित्त, नीति निर्माण, नागरिक सहभागिता र नेतृत्व क्षमताबारे आकांक्षीको बुझाइ परीक्षण गरिनेछ । त्यस्तै, पार्टीसँगको आबद्धता, संगठन विस्तारमा योगदान, विगतको जिम्मेवारी, स्थानीय समुदायसँगको सम्बन्ध, सार्वजनिक छवि र निर्वाचनसम्बन्धी सम्भावनाको मूल्यांकनका लागि थप २५ प्रतिशत भार छुट्याइएको छ ।
प्रारम्भिक निर्वाचनलाई अधिकतम ४० प्रतिशत भार दिइएको छ । सम्बन्धित क्षेत्रमा पार्टी सदस्यको अनुपातअनुसार यसको भार ४०, ३०, २०, १० वा पाँच प्रतिशत कायम हुनेछ । कुल मतदाताको एक प्रतिशतभन्दा कम पार्टी सदस्य भए प्रारम्भिक निर्वाचन नगरिने व्यवस्था छ । मतदानमा ‘नोटा’ विकल्प पनि रहनेछ । नोटाले सबैभन्दा बढी मत पाए सबै आकांक्षीको उम्मेदवारी खारेज गरी नयाँ उम्मेदवार छनोट गरेर पुनः मतदान गरिनेछ ।
समावेशिताका लागि १० प्रतिशत भार छुट्याइएको छ । लैंगिक समानता, उमेर, अपांगता, भौगोलिक विकटता र सामाजिक–आर्थिक पृष्ठभूमिका आधारमा डिजिटल प्रणालीले प्रमाणित विवरणअनुसार अंक गणना गर्नेछ ।
नयाँ सदस्यका लागि पालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षमा आवेदन दिन पहिलोपटक राजनीतिमा आएकाले ४५ दिन तथा अर्को दलबाट आएकाले ९० दिन सदस्यता अवधि पूरा गर्नुपर्नेछ । वडा सदस्यका लागि क्रमशः तीन र सात दिन तोकिएको छ । विशेष क्षमता भएका व्यक्तिलाई ‘ल्याटरल इन्ट्री’मार्फत प्रवेश दिन सकिनेछ ।
यद्यपि, असाधारण परिस्थितिमा केन्द्रीय समितिको तत्काल कायम सदस्य संख्याको कम्तीमा दुईतिहाइ बहुमतबाट फरक छनोट प्रक्रिया अनुमोदन गर्न सकिने व्यवस्था पनि छ । यस्तो अवस्थामा समेत क्यान्डिडेट क्लब, नेतृत्व एकेडेमी र प्रारम्भिक निर्वाचनका आधारभूत प्रक्रिया कायम राख्नुपर्ने रूपरेखामा उल्लेख छ ।

























