डढेलोले दक्षिणपूर्वी एसिया प्रभावित, सिंगापुरमा प्रदूषण उच्च

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २९, बिहीबार ०७:०३
प्रतीकात्मक तस्बिर

एजेन्सी । इन्डोनेसियामा फैलिएको भीषण डढेलोको धुवाँ सीमापार फैलिएपछि दक्षिणपूर्वी एसियाका विभिन्न देशमा वायु प्रदूषणको समस्या गम्भीर बनेको छ । सिंगापुरमा वायु प्रदूषण यस वर्षकै उच्च स्तरमा पुगेको छ भने पूर्वी टिमोरले तीन दिनका लागि विद्यालयमा प्रत्यक्ष पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।

रोयटर्सका अनुसार बुधबार सिंगापुरको पश्चिमी क्षेत्रमा पीएम २.५ प्रदूषणको एक घण्टे मापन प्रतिघनमिटर २८४ माइक्रोग्राम पुगेको थियो । सिंगापुरको राष्ट्रिय वातावरण निकायले यसलाई ‘अत्यन्त उच्च’ श्रेणीमा राखेको छ । पछिल्लो तुवाँलोको अवधिमा पहिलोपटक प्रदूषण यो स्तरमा पुगेको हो ।

पूर्वी टिमोर सरकारले छिमेकी क्षेत्रबाट फैलिएको धुवाँका कारण उत्पन्न प्रदूषक कणको जोखिमलाई ध्यानमा राख्दै अक्टोबर १५ देखि तीन दिनसम्म विद्यालयमा प्रत्यक्ष उपस्थितिमा हुने पठनपाठन स्थगित गर्ने जनाएको छ । सरकारले विज्ञप्तिमा इन्डोनेसियाको नाम उल्लेख नगरे पनि पूर्वी टिमोरको टापु इन्डोनेसियाको पूर्वी नुसा तेंगारा प्रान्तसँग जोडिएको छ ।

इन्डोनेसियाले पछिल्लो ११ वर्षयताकै तीव्र डढेलोको सामना गरिरहेको छ । एल निनोका कारण उत्पन्न सुक्खा मौसमले आगो फैलिन अनुकूल परिस्थिति सिर्जना गरेको अधिकारीहरूले बताएका छन् । डढेलोबाट निस्किएको धुवाँले इन्डोनेसियामै श्वासप्रश्वाससम्बन्धी बिरामीको संख्या बढाएको छ भने छिमेकी देशहरूमा पनि वायुको गुणस्तर खस्किएको छ ।

इन्डोनेसियाको मध्य कालीमन्तान प्रान्तमा बुधबार वायु प्रदूषण सूचकांक १२०० नाघेको वातावरण मन्त्रालयको तथ्यांकले देखाएको छ । यो खतरनाक मानिने ३०० को स्तरभन्दा चार गुणाभन्दा बढी हो । स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेका दृश्यमा पलाङ्का राया सहर बाक्लो पहेँलो तुवाँलोले ढाकिएको देखिएको छ । धुवाँका कारण सडकमा सवारीसाधनको दृश्यता घटेको छ भने सुरक्षाकर्मीले सडकछेउका पीटल्यान्डमा लागेको आगो निभाउने प्रयास गरिरहेका छन् ।

डढेलो र तुवाँलोसँग सम्बन्धित श्वासप्रश्वासका बिरामीको संख्या पनि उल्लेख्य रूपमा बढेको छ । अक्टोबर १२ सम्म इन्डोनेसियाका सात प्रान्तमा यस्ता बिरामीको संख्या २ लाख ७७ हजार ७५ पुगेको थियो । सेप्टेम्बर ९ मा सार्वजनिक गरिएको १ लाख १३ हजार ३३६ जनाको तथ्यांकसँग तुलना गर्दा यो संख्या दोब्बरभन्दा बढी हो ।

आगो नियन्त्रणमा कठिनाइ हुनुको प्रमुख कारण जमिनमुनि रहेको पीटयुक्त माटोमा सल्किएको आगो रहेको अधिकारीहरूले बताएका छन् । जैविक पदार्थले भरिएको यस्तो माटोमा लागेको आगो सतहमुनि लामो समयसम्म बलिरहने र निभेजस्तो देखिएपछि पनि पुनः सल्किन सक्ने भएकाले नियन्त्रण गर्न कठिन हुन्छ । विपद् न्यूनीकरण निकायका प्रवक्ता बर्टोन पन्जाइतानले यस्तो आगो नियन्त्रणका लागि निरन्तर वर्षा आवश्यक रहेको बताएका छन् ।

डढेलो नियन्त्रण गर्न इन्डोनेसियाले अग्निनियन्त्रकको संख्या बढाएको छ । राष्ट्रपति प्रबोवो सुबियान्तोले आगो नियन्त्रणका लागि थप स्रोतसाधन परिचालन गर्न निर्देशन दिएका छन् । राजनीतिक तथा सुरक्षा मामिलासम्बन्धी समन्वय मन्त्रालयका अधिकारी होनी हाभानाका अनुसार अहिले ६९ हजारभन्दा बढी अग्निनियन्त्रक परिचालन गरिएका छन् । सेप्टेम्बरको मध्यतिर यो संख्या करिब ४४ हजार थियो । आगो प्रभावकारी रूपमा निभाउन विशेष रसायन प्रयोग गर्ने नयाँ विधिको परीक्षणसमेत भइरहेको उनले बताएका छन् ।

इन्डोनेसियाको डढेलोबाट उत्पन्न धुवाँले यसअघि पनि दक्षिणपूर्वी एसियाका विभिन्न देशलाई प्रभावित पार्दै आएको छ । सन् २०१५ को अक्टोबरमा डढेलोका कारण सिंगापुरको पश्चिमी क्षेत्रमा पीएम २।५ को मात्रा प्रतिघनमिटर ४७१ माइक्रोग्राम पुगेको थियो, जुन त्यहाँको राष्ट्रिय रेकर्ड हो । यसपटक पनि प्रदूषण बढ्दै गएपछि क्षेत्रीय स्तरमा समस्या समाधानका लागि दबाब बढेको छ ।

दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान)को आगामी महिना हुने बैठकमा सीमापार वायु प्रदूषणको विषयमा छलफल हुने तयारी भइरहेका बेला इन्डोनेसियामाथि कूटनीतिक दबाबसमेत बढेको छ । मलेसियाका सांसद सायद सादिक सायद अब्दुल रहमानले डढेलो नियन्त्रणमा पर्याप्त प्रयास नभएको भन्दै प्रभावित देशहरूलाई इन्डोनेसियाविरुद्ध संयुक्त कूटनीतिक विरोध जनाउन आग्रह गरेका थिए ।

उनले मलेसिया र सिंगापुरसहित प्रभावित राष्ट्रले साझा रूपमा आवाज उठाउनुपर्ने बताएका छन् । साथै, जमिनमा आगो लगाउने गतिविधिसँग सम्बन्धित कम्पनीलाई वित्तीय सहयोग गर्ने बैंकहरूले त्यस्तो वित्तपोषण रोक्नुपर्ने मागसमेत उनले गरेका छन् ।

डढेलोबाट निस्किएको धुवाँ राष्ट्रिय सीमाभन्दा बाहिरसम्म फैलिने समस्या दक्षिणपूर्वी एसियामा लामो समयदेखि चुनौतीका रूपमा रहँदै आएको छ । यसले जनस्वास्थ्य र वातावरणमा प्रत्यक्ष असर पार्नुका साथै क्षेत्रीय सम्बन्धमा समेत तनाव उत्पन्न गर्ने गरेको छ ।

तपाइको प्रतिक्रिया
९८ जना आरोहीलाई ३१ हिमाल आरोहणका लागि अनुमति
शिक्षा सुधारका लागि सातै प्रदेशमा कार्यशाला, बजेट विनियोजनमा जोड
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
विराटनगरबाट खैरो हेरोइनसहित दुई युवक पक्राउ
झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
धरानमा लागुऔषधका मुद्दा सर्वाधिक, तीन वर्षमा ४०६ घटना प्रहरीमा दर्ता
कांग्रेसको दलित सहमहामन्त्रीमा प्रकाश रसाइलीको शानदार जित
डढेलोले दक्षिणपूर्वी एसिया प्रभावित, सिंगापुरमा प्रदूषण उच्च
रास्वपामा टिकटको नयाँ सूत्र : उम्मेदवार छनोटमा ४० प्रतिशतसम्म सदस्यको मत
विभिन्न प्रदेशका पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
पर्यटक भिसामा मोरङ आएर धर्म प्रचार, २४ कोरियालीलाई तीन वर्ष नेपाल प्रवेशमा रोक
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×