बाढी प्रभावित परिवारलाई तत्काल एक लाख रुपैयाँ प्रदान गरिँदै

Share this
748shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २९, बिहीबार ०८:४६

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रभावित परिवारलाई आर्थिक सहयोग लगायत अन्य विभिन्न प्रतिकार्यका कार्यक्रम अगाडि बढाएको छ । सोसाइटीले बाढीको खोज उद्धार पश्चात नगद सहित प्रतिकार्यका थप विभिन्न कार्यक्रम अगाडि बढाएको हो ।

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी) को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईँ हालै बाढी प्रभावित क्षेत्रको अवलोकनका क्रममा सो घोषणा गरेका थिए ।

यसका लागि नेपाल रेडक्रस सोसाइटी र विदुर नगरपालिकाबीच बाढीको प्रतिकार्य, पुनःलाभ तथा पुनःस्थापनाका लागि सहकार्य भएको छ । बाढीबाट प्रभावित समुदायको तत्कालीन मानवीय आवश्यकता सम्बोधन गर्नुका साथै पुनःलाभ, पुनःस्थापना र भविष्यमा हुनसक्ने विपद् एवं जलवायुजन्य जोखिमप्रति उत्थानशीलता अभिवृद्धिका लागि सहकार्य गर्ने उद्देश्यले साझेदारी सम्झौता गरिएको हो ।

विदुर नगरपालिकाको कार्यालयमा आयोजित बुधबार आयोजित कार्यक्रमकाबीच विदुर नगर प्रमुख राजन श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटीका महामन्त्री ऋषिरमण खनाल, नेपालस्थित आइएफआरसीका नेपाल प्रमुख डेभिड फिसर र नेपाल रेडक्रस नुवाकोटका सभापति हरि श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौतापत्रमा स्वास्थ्यसम्बन्धी सहायता, खानेपानी सरसफाइ तथा स्वच्छता, आवास तथा आश्रय सहायता, मर्मत तथा पुनःस्थापना, जीविकोपार्जन तथा आर्थिक पुनःलाभ, नगद सहायता तथा आवश्यकतामा आधारित नगद सहयोग र विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा समुदायको उत्थानशीलता अभिवृद्धिका क्षेत्रमा सहकार्य गर्ने उल्लेख गरिएको छ ।

सम्झौताअनुसार रेडक्रसले बाढीका कारण बेपत्ता परिवारका एकल महिला, अभिभावक गुमाएका बालबालिका तथा ज्येष्ठ नागरिक भएका परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँ तथा दुई हजार घरधुरीलाई बहुद्देश्यीय नगद सहायता रु १५ हजार उपलब्ध गराउने छ ।

यसैगरी, एक हजार परिवारलाई जीविकोपार्जन पुनःस्थापना सहायता, दुई हजार घरधुरीलाई स्थायी आवासको व्यवस्था नभएसम्म घरभाडा भुक्तानी, ६०० घरधुरीलाई सङ्क्रमणकालीन आवासको व्यवस्थापन रेडक्रसले गर्ने समझदारीपत्रमा उल्लेख छ । यसैगरी, रेडक्रसले बाढीका कारण प्रभावित विदुर खानेपानी आयोजनाको साढे सात किलोमिटर पाइपलाइनको मर्मतका साथै बिदुर, बुधसिँघाट, सिर्खाली र महारानिडिही क्षेत्रमा ३० हजार जनसङ्ख्या लाभान्वित हुनेगरी खानेपानी प्रणालीको मर्मत तथा पुनःस्थापना गर्नेछ ।

यस्तै, स्वास्थ्य तथा सामाजिक पूर्वाधारको पुनर्निर्माण तथा पुनःस्थापना, आधारभूत स्वास्थ्य तथा आपतकालीन स्वास्थ्य सेवा, विद्यालय तथा शैक्षिक पूर्वाधारको पुनःस्थापना, शिविर व्यवस्थापना तथा प्रभावित व्यक्तिको सहयोगलगायत क्षेत्रमा रेडक्रसले काम गर्ने समझदारीपत्रमा उल्लेख छ । समझदारीअन्तर्गतका कार्यक्रम तथा गतिविधिको समन्वय, मार्गदर्शन, अनुगमन तथा समीक्षा गर्न नगरप्रमुख वा नगरप्रमुखले तोकेको प्रतिनिधिको संयोजकत्वमा संयुक्त समन्वय तथा कार्यक्रम सञ्चालन समिति गठन गरिनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×