
गोरखा । बूढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा फसेका एक हजार ४४ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। आइतबारदेखि बुधबारसम्म नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरी उनीहरूको उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो। उद्धार गरिएकामध्ये ७० जना विदेशी नागरिक रहेका छन्।
बाढीले उत्तरी गोरखा जाने पदमार्ग तथा पुलमा क्षति पुर्याएपछि सो क्षेत्रमा रहेका नागरिक आवतजावत गर्न नसकी फसेका थिए। शर्माका अनुसार आइतबार ९६ जना, सोमबार ३२१ जना, मङ्गलबार १८६ जना र बुधबार ४४१ जनाको उद्धार गरिएको हो।
उद्धारसँगै प्रभावित क्षेत्रमा राहत वितरणको काम पनि तीव्र पारिएको छ। सरकार तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा खाद्यान्न, टेन्ट, म्याट, सिरानी, सिरक, त्रिपाल, सोलार र जेनेरेटरलगायत सामग्री वितरण भइरहेको छ। सडक तथा पदमार्गमा क्षति पुगेका कारण उद्धार र राहत सामग्री ढुवानीका लागि हेलिकोप्टर प्रयोग गर्नुपरेको शर्माले बताउनुभयो।
उहाँका अनुसार प्रभावित क्षेत्रबाट नागरिकलाई उद्धार गरेर ल्याउने हेलिकोप्टरमार्फत नै राहत सामग्रीसमेत पुर्याउने गरिएको छ।
यसैबीच, नेपाल रेडक्रस सोसाइटीले पनि बाढी प्रभावित क्षेत्रमा राहत तथा प्रतिकार्यका गतिविधि अघि बढाएको छ। रेडक्रसका महामन्त्री ऋषि खनालका अनुसार बाढीको सूचना प्राप्त हुनासाथ गोरखा, धादिङ, तनहुँ, चितवन तथा नवलपुरका पूर्व र पश्चिम क्षेत्रबाट स्वयंसेवक परिचालन गरिएको थियो।
रेडक्रसले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाली सेनासँग समन्वय गरी त्रिपाल, म्याट्रेस, ब्ल्याङ्केट, डिग्निटी किटलगायत गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पठाएको जनाएको छ। अस्पताल सञ्चालन गर्न सकिने दुई ठूला टेन्टसमेत प्रभावित क्षेत्रमा पुर्याइएको खनालले जानकारी दिनुभयो।
बाढीबाट भएको क्षतिको आकलन गर्न विज्ञ टोली परिचालन गरिएको र आवश्यक थप राहत सामग्री सरकारसँगको समन्वयमा पठाउने तयारी भइरहेको रेडक्रसले जनाएको छ। प्रभावित नागरिकलाई आवश्यक मानवीय सहायता उपलब्ध गराउने काम जारी रहेको छ।

























