चिकित्सकको सहभागितामा दसैँ–तिहारसहितका पर्वको संयुक्त उत्सव

Share this
697shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २९, बिहीबार १२:३१

विराटनगर । नेपाल चिकित्सक संघ, कोशी शाखाले दसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा आयोजना गरेको संयुक्त उत्सवमा २०५ जना चिकित्सक सहभागी भएका छन् । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकबीच आपसी सद्भाव, आत्मीयता र व्यावसायिक सम्बन्ध सुदृढ गर्ने उद्देश्यले आयोजित कार्यक्रममा मनोरञ्जन, सांगीतिक प्रस्तुति र आपसी भेटघाटलाई प्राथमिकता दिइएको थियो ।

‘दसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वको उत्सव—व्यावसायिक व्यक्तित्वहरूसँग असीमित रमाइलो’ भन्ने मूल भावसहित आयोजित कार्यक्रमको उद्घाटन परम्परागत शैलीभन्दा फरक रूपमा हट लेमन चियर्स गरेर गरिएको थियो । नेपाल चिकित्सक संघ कोशी शाखाका अध्यक्ष डा.राजेन्द्र चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. किर्तिपाल सुवेदी प्रमुख अतिथि थिए । कोशी अस्पताल विकास समितिका अध्यक्ष डा. सुमित घिमिरे, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झा, बुढीगंगा गाउँपालिका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुरज थापा मगर, संघका सल्लाहकारहरू डा. यज्ञराज पाठक, डा. वीरेन्द्र विष्ट, डा. विश्वनाथ अधिकारी र डा. आलोक भण्डारी तथा विराट मेडिकल कलेजका प्रिन्सिपल डा. सन्तोष उपाध्याय काफ्लेलगायत अतिथिले संयुक्त रूपमा हट लेमन चियर्स गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा नोबेल मेडिकल कलेजका प्रिन्सिपल डा. राजेश नेपाल, विभिन्न अस्पतालका चिकित्सक तथा एलेक्सा हेल्थ साइन्सका दिनेश ठाकुरलगायत स्वास्थ्य क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. किर्तिपाल सुवेदीले कोशी प्रदेशमा आएदेखि नै नेपाल चिकित्सक संघसँग भेटघाट तथा अन्तरक्रिया गर्ने इच्छा भए पनि व्यस्तताका कारण अवसर नमिलेको बताए । संघका महासचिव डा.बालकृष्ण साहसँगको भेटका क्रममा यस कार्यक्रममार्फत चिकित्सक संघसँग जोडिने अवसर प्राप्त भएको उल्लेख गर्दै उनले चिकित्सक समुदायसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

व्यस्त चिकित्सकीय जीवनबाट केही समय अलग रहेर चिकित्सकलाई आपसमा भेटघाट, अनुभव आदानप्रदान र मनोरञ्जन गर्ने अवसर प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ। विभिन्न अस्पताल, विधा र संस्थामा कार्यरत चिकित्सकलाई एउटै थलोमा भेला गराएर आपसी सम्बन्ध विस्तार गर्ने प्रयास गरिएको थियो।

कार्यक्रममा चिकित्सकहरूकै सांगीतिक प्रस्तुतिले विशेष आकर्षण थपेको थियो। एनेस्थेसियोलोजिस्ट चिकित्सक डा। मञ्जिल श्रेष्ठ र डा। सुमन थापाले एकल गीत प्रस्तुत गर्दै सहभागीलाई मन्त्रमुग्ध पारेका थिए। त्यस्तै, विराट मेडिकल कलेजमा एमबीबीएस अध्ययन पूरा गरी इन्टर्नसिपमा रहेका सानु यादव, स्तुति श्रेष्ठ, भावया रञ्जन र सोहिनी घोषले सामूहिक नृत्य प्रस्तुत गरेका थिए। आमन्त्रित तीन जना व्यावसायिक नृत्य कलाकारको प्रस्तुतिले पनि समारोहलाई थप मनोरञ्जनात्मक बनाएको थियो।

सहभागी चिकित्सकहरूले कार्यक्रमको उद्घाटन शैली, छोटो औपचारिक सत्र, व्यवस्थापन र खानपानको प्रशंसा गरेका थिए। फरक–फरक अस्पताल र विशेषज्ञतामा कार्यरत चिकित्सकलाई अनौपचारिक रूपमा भेटघाट तथा अन्तरक्रिया गर्ने अवसर मिल्नु कार्यक्रमको सकारात्मक पक्ष रहेको उनीहरूको भनाइ थियो। यस्ता कार्यक्रम वर्षमा कम्तीमा दुईपटक आयोजना गर्नुपर्ने सुझावसमेत सहभागीले दिएका थिए।

कार्यक्रमका क्रममा सहभागी चिकित्सकहरूको टिकटको अर्धकट्टीबाट लक्की ड्रसमेत गरिएको थियो। त्यसबाट छनोट भएका तीन जना विजेतालाई इटहरीस्थित ‘हेयर एन्ड स्किन केयर लेजर अस्पताल’ले उपलब्ध गराएका उपहार प्रदान गरिएको थियो।

नेपाल चिकित्सक संघ, कोशी शाखाका महासचिव डा.बालकृष्ण साह र डा. प्राची भगतले संयुक्त रूपमा सञ्चालन गरेको कार्यक्रममा संघका पदाधिकारी, पूर्वअध्यक्ष, सल्लाहकार, विभिन्न समितिका संयोजक तथा सदस्य, वरिष्ठ विशेषज्ञ चिकित्सक, प्राध्यापक, युवा चिकित्सक र सहयोगी संस्थाका प्रतिनिधिहरू सहभागी थिए।

पर्वको उल्लाससँगै चिकित्सकबीच आत्मीयता, सहकार्य र व्यावसायिक एकता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उत्सवले स्वास्थ्य क्षेत्रका जनशक्तिबीच सम्बन्ध थप प्रगाढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×