
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको सम्पूर्ण मतगणना शुक्रबार बिहान सकिएको छ । मधेश र बागमती प्रदेशको अन्तिम परिणाम आएसँगै असोज २३ गते रातिदेखि सुरु भएको मतगणना सम्पन्न भएको हो ।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार लुम्बिनी, गण्डकी, उपत्यका, श्रमिक, सहिद परिवार तथा द्वन्द्वपीडिततर्फका केन्द्रीय सदस्यको मतगणना राति नै सकिएको थियो । सहमहामन्त्रीसहित खुला र महिला केन्द्रीय सदस्य चयन हुने खसआर्य तथा थारूतर्फको मतगणना पनि राति अबेर सम्पन्न भएको उनले बताए ।
सबै पदको मतपरिणाम रुजु गर्ने काम भइरहेको र केही बेरमै नतिजा सार्वजनिक गर्ने तयारी रहेको कटुवालले जानकारी दिए । असोज २३ गते मतदानपछि सोही राति सभापतिको मतगणना सुरु गरिएको थियो । राष्ट्रिय सभागृहमा गरिएको सभापतिको मतगणनाको नतिजा असोज २४ गते बिहान सार्वजनिक भएको थियो । अन्य पदको मतगणना भने असोज २४ गते रातिदेखि पार्टी केन्द्रीय कार्यालय बीपी नगर, सानेपामा गरिएको थियो ।
कटुवालका अनुसार १४औँ महाधिवेशनमा ४ हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेको थियो । यसपटक ७ हजार ३९२ मतदाताको मतगणना एक सातामै सकिएको हो । उनका अनुसार मतगणना सुरु भएकै दिनदेखि दिनरात गरी करिब २५ समूह बनाएर गणना गरिएको थियो । मतदान र मतगणनाका क्रममा कुनै विवाद नभएको तथा निर्वाचन सौहार्दपूर्ण रूपमा सम्पन्न भएको उनले बताए ।
यसपटक करिब १ लाख ६२ हजार मतपत्र गणना गरिएको थियो। कुल २२९ पदका लागि निर्वाचन भएकोमा ७७ प्रकारका पद थिए। प्रत्येक मतदाताले २३ वटा मतपत्रमा मतदान गर्नुपर्ने व्यवस्था थियो । अघिल्लो महाधिवेशनको तुलनामा यसपटक दोब्बरभन्दा बढी छिटो मतगणना सम्पन्न भएको कटुवालको दाबी छ । नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र वितरण र शपथग्रहण कार्यक्रम दसैँलगत्तै गर्ने तयारी छ । त्यसपछि बस्ने कार्यसमितिको पहिलो बैठकमा स्थानीय तह निर्वाचनको खाकाबारे पनि छलफल गर्ने तयारी रहेको नेताहरूले बताएका छन् ।

























