
विराटनगर । विराटनगरका साहित्यकार विवश पोखरेल र पर्वतका डा. छायादत्त न्यौपाने २०८२ सालको जयपृथ्वीबहादुर सिंह सम्मान तथा पुरस्कारबाट सम्मानित हुने भएका छन् ।
काठमाडौंको बूढानीलकण्ठ–९, मण्डिखाटारस्थित द राइजिङ स्टार बोर्डिङ स्कुलले बालसाहित्य तथा साहित्यका विभिन्न विधामा योगदान पुर्याएको भन्दै उनीहरूलाई सम्मान गर्ने निर्णय गरेको हो ।
विद्यालयका प्रिन्सिपल कृष्ण बोहोराको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । दुवै स्रष्टालाई आगामी कात्तिक १५ गते काठमाडौंमा पुरस्कार समर्पण गरिने विद्यालयले जनाएको छ ।
पोखरेलका बालकविता, कविता, कथा, निबन्ध र मुक्तकलगायत विधाका नौवटा कृति प्रकाशित छन् । उनले एक दर्जनभन्दा बढी कृतिको सम्पादनसमेत गरेका छन् । नेपाली साहित्यको प्रवर्द्धनमा पोखरेलले योगदान पुर्याउँदै आएका छन् ।
त्यस्तै, पर्वतको पैँयु–४ का न्यौपानेका बालसाहित्यका साथै कथा, कविता, निबन्ध, उपन्यास, एकाङ्की र समालोचनासम्बन्धी डेढ दर्जनभन्दा बढी कृति प्रकाशित छन् । उनले साहित्यका विभिन्न विधाका कृतिसँगै विद्यालय तहका पाठ्यक्रमको सम्पादनसमेत गरेका छन् ।
नेपालका मानवतावादी, शिक्षाप्रेमी, साहित्यकार, पत्रकार तथा समाज सुधारक जयपृथ्वीबहादुर सिंहको योगदानको स्मरणमा विद्यालयले यो सम्मान तथा पुरस्कार स्थापना गरेको हो । विश्वशान्ति, मानवता र विश्वबन्धुत्वको सन्देश फैलाउन योगदान दिएका सिंह गोरखापत्रका मुख्तियार (सम्पादक) समेत थिए ।
विद्यालयले भाषा र साहित्यको क्षेत्रमा योगदान पुर्याउने देशका विभिन्न स्थानका स्रष्टालाई विगत चार वर्षदेखि यो सम्मान प्रदान गर्दै आएको छ ।

























