
विराटनगर । कोशी प्रदेश र मधेश प्रदेशबीच खेलकुद क्षेत्रको विकास, प्रवर्द्धन तथा खेलाडीको क्षमता अभिवृद्धिका लागि द्विपक्षीय सहकार्य गर्ने समझदारी भएको छ। दुई प्रदेशका खेलकुद निकायबीच मैत्रीपूर्ण प्रतियोगिता सञ्चालन, संयुक्त तालिम, खेल पूर्वाधारको उपयोग तथा अनुभव आदानप्रदानलगायतका विषयमा सहकार्य गर्ने समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो ।
विराटनगरमा आयोजित कार्यक्रममा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव विप्लव घोष र मधेश प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव शिवजीप्रसाद कानुले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
समझदारीअनुसार दुवै प्रदेशबीच नियमित रूपमा मैत्रीपूर्ण खेलकुद प्रतियोगिता सञ्चालन गरिनेछ। खेलाडी, प्रशिक्षक, रेफ्री, अम्पायर तथा खेल प्रशासकको क्षमता अभिवृद्धिका लागि संयुक्त तालिम सञ्चालन गर्नुका साथै अनुभव र सीप आदानप्रदान गरिनेछ। यस्तै, खेलकुद पूर्वाधार तथा प्रविधिको साझेदारी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा समेत एकअर्कालाई सहयोग गर्ने सहमति भएको छ।
दुवै प्रदेशले वार्षिक खेलकुद क्यालेन्डर निर्माण गरी पालैपालो प्रतियोगिता आयोजना गर्नेछन्। प्रतियोगिता आयोजना गर्ने प्रदेशले खेल सञ्चालन, स्थानीय यातायात तथा आवासको व्यवस्था गर्नेछ भने सहभागी प्रदेशले आफ्नो टोलीको आवागमन र पूर्वतयारीमा लाग्ने खर्च व्यहोर्ने समझदारी भएको छ।
समझदारीपत्रमा हस्ताक्षरपछि कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव घोषले दुई प्रदेशबीचको सहकार्यले खेलकुदका विभिन्न विधामा ज्ञान, सीप र अनुभव आदानप्रदान गर्ने अवसर सिर्जना गर्ने बताए । उनका अनुसार मधेश प्रदेशबाट क्रिकेट, कबड्डी र कुस्तीजस्ता खेलमा कोशी प्रदेशले सिक्ने अवसर प्राप्त गर्नेछ भने कोशीले मधेश प्रदेशलाई भलिबल, फुटबल र महिला क्रिकेटको विकासमा सहयोग गर्नेछ।
त्यसैगरी, मधेश प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव कानुले दुई प्रदेशबीचको समझदारीले खेलाडीको व्यावसायिक क्षमता विकास गर्नुका साथै खेलकुदलाई आत्मनिर्भरताको माध्यम बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
दुई प्रदेशबीचको यो सहकार्यले खेलाडीको प्रतिभा पहिचान, प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि र खेलकुदको व्यावसायिक विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। साथै, आपसी सहकार्यबाट खेल पर्यटनको प्रवर्द्धन तथा दुवै प्रदेशबीचको खेलकुद सम्बन्ध थप सुदृढ हुने विश्वास गरिएको छ।



















