दसैँ : आफन्त जोड्ने पर्व, बदलिँदो सम्बन्ध

Share this
680shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २, सोमबार १०:२२

काठमाडौं । दसैँ नेपाली समाजमा धार्मिक आस्था र सांस्कृतिक परम्पराको पर्व मात्र होइन, पारिवारिक सम्बन्ध नवीकरण गर्ने अवसर पनि हो । मान्यजनबाट टीका र जमरासहित आशीर्वाद ग्रहण गर्ने, आफन्तसँग भेटघाट गर्ने र सुखदुःख साटासाट गर्ने परम्पराले दसैँलाई परिवार र समाज जोड्ने पर्वका रूपमा स्थापित गरेको छ ।

विशेषगरी माइती, मावली र अन्य नातेदारबीचको सम्बन्ध प्रगाढ बनाउने, टाढिएका आफन्तलाई नजिक ल्याउने र नयाँ पुस्तालाई पारिवारिक संस्कारसँग जोड्ने माध्यमका रूपमा दसैँको विशेष महत्व छ । समयक्रममा सहरीकरण, बसाइँसराइ, वैदेशिक रोजगारी र प्रविधिको विस्तारले दसैँ मनाउने शैलीमा परिवर्तन ल्याए पनि पारिवारिक आत्मीयता र सम्बन्धको महत्व भने उस्तै छ ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक नेपालमा विभिन्न समुदायले दसैँ आ-आफ्नै परम्परा र शैलीमा मनाउँछन् । असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको स्थापना र शक्तिको आराधनासँग जोडिएको यस पर्वले आपसी सद्भाव, सम्मान र सामाजिक एकताको सन्देश पनि दिन्छ ।

धार्मिक मान्यताअनुसार देवी दुर्गाले महिषासुरमाथि र भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको प्रसङ्गसँग दसैँ जोडिएको छ । घटस्थापनाबाट सुरु हुने नवरात्रका अनुष्ठान र विजयादशमीमा टीका तथा जमरा ग्रहण गर्ने परम्पराले यसको धार्मिक र सांस्कृतिक महत्व झल्काउँछन् । घटस्थापनाका दिन जौलगायत अन्नका बीउ छरेर जमरा उमार्ने चलनले कृषि जीवन, प्रकृति र उर्वरतासँगको सम्बन्धलाई समेत अभिव्यक्त गर्छ ।

त्रिभुवन विश्वविद्यालयको नेपाली इतिहास, संस्कृति तथा पुरातत्व विभागका पूर्वप्रमुख डा. सोमप्रसाद खतिवडा दसैँलाई नेपाली समाजको पहिचानसँग जोडिएको राष्ट्रिय पर्वका रूपमा लिन्छन् । उनका अनुसार चाडपर्वका आफ्नै सांस्कृतिक र वैज्ञानिक पक्ष हुन्छन् । समयसँगै मनोरञ्जनका साधन र पर्व मनाउने शैली फेरिए पनि यस्ता परम्पराले समाजलाई जोड्ने काम गरिरहेका छन् ।

‘नेपाली भनेर चिन्ने आधारमध्ये चाडबाड पनि हो । दसैँ नेपालीको पहिचानसँग जोडिएको छ । राज्यका तर्फबाट यस पर्वमा ठूलो लगानी हुन्छ । शक्तिपीठमा पूजा तथा बलि दिने र गुठीबाट अनुदान प्रदान गर्ने परम्परा पनि यससँग सम्बन्धित छन्’, उनले भने, ‘नेपाली समाजमा बडादसैँको विशेष महत्व छ । विगतमा पनि यसको विशेष महत्व थियो । अहिले मनोरञ्जनका माध्यम र साधन थपिएका छन् । मनाउने वर्ग छ, नमनाउने वर्गले पनि यो वा त्यो रूपमा मनाएको छ ।’

माइती-मावलीसँग जोडिने सम्बन्ध

दसैँको महत्वपूर्ण पक्षमध्ये एक हो, पारिवारिक सम्बन्धलाई निरन्तरता दिने परम्परा । भाषाविद् तथा साहित्यकार डा. बलदेव अधिकारीका अनुसार दसैँले विशेषगरी माइती, मावली र अन्य नातेदारबीचको सम्बन्धलाई जीवन्त राख्ने काम गर्छ ।

विगतमा रोजगारीका लागि लाहुर गएकाहरू पनि दसैँ मनाउन घर फर्कने गरेको स्मरण गर्दै उनले विभिन्न समुदायमा टीका लगाउने र आशीर्वाद दिने चलन फरक भए पनि पारिवारिक सम्बन्धको महत्व समान रहेको बताए ।

‘दसैँ सबै जातिको पर्व हो । यसले माइती र मावलीको सम्बन्धलाई प्रगाढ बनाउँछ । पहिले लामो समय तयारी गरेर सरसामान जुटाई दसैँ मनाइन्थ्यो । आफन्तकहाँ जाने, टीका लगाउने र आशीर्वाद लिने चलनले कुटुम्ब सम्बन्धलाई निरन्तरता दिन्थ्यो’, उनले भने ।

उनका अनुसार विगतमा बरखी बारिरहेका परिवारका सदस्यबाहेक अन्य छोराछोरीसमेत मामाघर गएर टीका लगाउने गर्थे । अहिले भने नातागोतामा जुठो वा सुतक परेको विषयलाई लिएर कतिपयले चाडपर्व मनाउन छाड्ने गरेको र आर्थिक क्षमता हुँदाहुँदै पनि आफन्तकहाँ जाने तथा टीका लगाउने परम्परालाई झन्झट मान्ने प्रवृत्ति देखिएको छ ।

दक्षिणा र खर्चको प्रतिस्पर्धाले दसैँको आत्मीय पक्ष कमजोर हुन सक्ने उनको चिन्ता छ । ‘पहिले दसैँका लागि लामो समयदेखि तयारी गरिन्थ्यो । अहिले पैसा भए रोजै मासु खाने र दक्षिणामा प्रतिस्पर्धा गर्ने प्रवृत्ति बढेको छ । दसैँको वास्तविक महत्व खर्च र प्रदर्शनमा होइन, सम्बन्ध र परम्परामा छ’, उनले भने ।

डा. अधिकारीका विचारमा सहरीकरण र बसाइँसराइका कारण परिवारका सदस्य विभिन्न स्थानमा छरिनु, कोही विदेशमा रहनु र कोही गाउँमै बस्नुले पारिवारिक भेटघाटको स्वरूप बदलिएको छ । दसैँको ऐतिहासिक तथा सांस्कृतिक महत्व नयाँ पुस्तालाई बुझाउन शिक्षा प्रणालीमा यस विषयलाई समेट्नुपर्ने उनको सुझाव छ ।

कृषि संस्कृतिदेखि डिजिटल भेटघाटसम्म

परम्परागत नेपाली समाजमा दसैँ कृषि जीवनसँग पनि जोडिएको थियो । खेतीपातीको काम सकेपछि चाडपर्व मनाउने चलन थियो । अन्न उत्पादन, सामूहिक श्रम र प्रकृतिप्रतिको निर्भरताले मानिसको जीवनशैली निर्धारण गर्ने समयमा दसैँ परिवार र समुदायलाई एकै ठाउँमा ल्याउने अवसर बन्थ्यो ।

अहिले कृषि जीवनको स्वरूप फेरिए पनि जमरा राख्ने र विजयादशमीमा त्यसलाई प्रसादका रूपमा ग्रहण गर्ने परम्पराले पुरानो सांस्कृतिक स्मृतिलाई निरन्तरता दिइरहेको छ ।

दसैँ पहिले सामूहिक सहभागिताको पर्व पनि थियो । गाउँघरमा पिङ हाल्ने, छरछिमेकसँग भेटघाट गर्ने, सामूहिक मनोरञ्जन गर्ने र स्थानीय मेलामा सहभागी हुने अभ्यासले सामाजिक सम्बन्ध बलियो बनाउँथ्यो । ज्येष्ठ सदस्यको सम्मान, बालबालिकाप्रतिको स्नेह र आफन्तबीच सहयोग आदानप्रदान गर्ने परम्पराले समुदायमा अपनत्वको भावना विकास गर्थ्यो ।

तर अहिले संयुक्त परिवारको स्थानमा एकल परिवारको विस्तार, रोजगारी तथा अध्ययनका लागि विदेश जाने प्रवृत्ति र सीमित बिदाका कारण दसैँ मनाउने समय र तरिका बदलिएको छ । पहिले लामो समय आफन्तसँग बसेर मनाइने पर्व अहिले कतिपय परिवारमा छोटो भेटघाटमा सीमित हुन थालेको छ ।

यद्यपि, प्रविधिले टाढिएका आफन्तसँग सम्पर्क कायम राख्न सहज बनाएको छ । विदेशमा रहेका परिवारका सदस्यसँग भिडियो कल गर्ने र सामाजिक सञ्जालमार्फत शुभकामना आदानप्रदान गर्ने चलनले भौगोलिक दूरीका बाबजुद सम्बन्धलाई निरन्तरता दिन सहयोग पुर्‍याएको छ ।

परम्परा जोगाउने कि बदलिँदो समयसँगै सुधार्ने ?

राष्ट्रिय जनसाहित्यिक संघ नेपालका महासचिव डा. कृष्ण सुवेदी ‘भारद्वाज मित्र’ संस्कृतिका सकारात्मक पक्ष संरक्षण गर्दै समयअनुकूल सुधार गर्नुपर्ने बताउँछन् । उनका अनुसार चाडपर्वलाई अनावश्यक खर्च, ऋणको बोझ र देखावटी प्रतिस्पर्धाको माध्यम बनाउनुभन्दा आत्मीयता, सहयोग र सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने अवसरका रूपमा विकास गर्नुपर्छ ।

प्रगतिशील लेखक संघका कोषाध्यक्षसमेत रहेका डा. सुवेदी सांस्कृतिक विविधतालाई विभाजनको आधार नभई आपसी सम्मान र साझा समृद्धिको स्रोतका रूपमा लिनुपर्ने बताउँछन् । संस्कृतिका नाममा हुने विभेद र अमानवीय अभ्यास हटाउँदै समानता, सहअस्तित्व, स्वतन्त्रता र सामाजिक न्यायका मूल्य बलियो बनाउनुपर्नेमा उनले जोड दिए ।

दसैँको स्वरूपमा उपभोक्तावादी जीवनशैलीको प्रभाव पनि देखिएको छ । नयाँ लुगा, मीठा परिकार र उपहार आदानप्रदान परम्परागत रूपमा चाडपर्वका हिस्सा भए पनि महँगो किनमेल र अरूको देखासिकीले कतिपय परिवारमा आर्थिक दबाब सिर्जना गरेको छ । चाडपर्वको खुसी खर्चको आकारमा नभई सम्बन्धको न्यानोपन, सहयोग र पारिवारिक सन्तुष्टिमा निर्भर हुन्छ भन्ने चेतना आवश्यक छ ।

पशुबलि, जुवातास, मदिराको अत्यधिक प्रयोग र अनावश्यक खर्चजस्ता विषयमा पनि समाजमा विभिन्न बहस हुने गरेका छन् । धार्मिक आस्था र सांस्कृतिक परम्पराको सम्मान गर्दै जिम्मेवार व्यवहार अपनाउनु र चाडपर्वलाई सामाजिक हितसँग जोड्नु आवश्यक छ ।

त्यस्तै, घरको सरसफाइ, परिकार तयारी र पाहुनाको सत्कारमा महिलामाथि मात्रै बढी जिम्मेवारी पर्ने अवस्थालाई पनि परिवर्तन गर्नुपर्छ । परिवारका सबै सदस्यको सहभागिता र घरायसी कामको न्यायोचित बाँडफाँटले पर्वलाई अझ समावेशी र उल्लासमय बनाउन सक्छ ।

नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने संस्कार

दसैँको सांस्कृतिक महत्व जोगाउन यसको अर्थ र परम्पराबारे नयाँ पुस्तालाई जानकारी गराउनु आवश्यक छ । टीका र जमराको महत्व, देवी आराधनाको परम्परा, मान्यजनको सम्मान तथा माइती–मावलीसँगको सम्बन्धको मूल्यबारे परिवारमै संवाद गर्न सकिन्छ । स्थानीय कला, लोकगीत, मौलिक परिकार, पिङ र सामुदायिक भेटघाटलाई निरन्तरता दिँदा सांस्कृतिक मौलिकता संरक्षण गर्न सहयोग पुग्छ ।

दसैँले सिकाउने आत्मीयता, पारिवारिक एकता, आपसी सम्मान र सहयोगका मूल्य कुनै एउटा समुदायमा मात्र सीमित छैनन् । आर्थिक रूपमा कमजोर परिवार, ज्येष्ठ नागरिक र एक्लो जीवन बिताइरहेका व्यक्तिलाई सहयोग गर्ने अभ्यासले पर्वको सामाजिक महत्वलाई अझ गहिरो बनाउन सक्छ । आफ्ना परम्पराको संरक्षणसँगै अन्य समुदायका चाडपर्व र विश्वासप्रति सम्मान व्यक्त गर्न सके सामाजिक सद्भाव र राष्ट्रिय एकता पनि बलियो बन्न सक्छ ।

दसैँलाई धार्मिक अनुष्ठान र औपचारिक भेटघाटमा मात्र सीमित नराखी पारिवारिक सम्बन्ध सुदृढ गर्ने, सांस्कृतिक पहिचान जोगाउने र सामाजिक सद्भाव बढाउने अवसरका रूपमा लिन आवश्यक छ । माइती, मावली र आफन्तबीचको आत्मीयता कायम राख्दै परम्पराका सकारात्मक पक्ष नयाँ पुस्तामा हस्तान्तरण गर्न सके दसैँको मौलिकता र सामाजिक महत्व पुस्तौँसम्म जीवन्त रहन सक्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×