
काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले दसैँ जस्ता चाडपर्वले नेपालीहरूबीच पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउने बताएका छन् । बडा दसैँका अवसरमा शुभकामना सन्देश दिँदै उनले विविधताबीचको सौहार्द एकतालाई मूर्त रूप प्रदान गर्न यस्ता पर्वको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरेका छन् ।
सभामुख अर्यालले विश्वभर रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामना गरेका छन् । उनले राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन माता दुर्गा भवानीले शुभाशीर्वाद प्रदान गरुन् भन्ने कामना व्यक्त गरेका छन् । सन्देशमा उनले दसैँले सबै नेपालीमा नवीन ऊर्जा, नवप्रवर्तन र राष्ट्र निर्माणको सङ्कल्प पैदा गरोस् भन्ने विश्वास व्यक्त गरेका छन् ।
सभामुख अर्यालले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएको स्मरण गर्दै दसैँलाई असत्यमाथि सत्य र दुराचारमाथि सदाचारको विजयको प्रतीकका रूपमा लिइने बताएका छन् ।
यो पर्वले सबैलाई समन्याय, सदाचार र लोकतान्त्रिक मूल्य मान्यताको मार्गमा हिँड्न प्रेरणा दिने उनको विश्वास छ । बडा दसैँ आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरेसँगै सुरु भई विभिन्न विधिपूर्वक पूजा आराधना गरी मान्यजनको हातबाट टीका र जमरा ग्रहण गरेर मनाउने गरिन्छ ।

























