
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-४ पोठियास्थित कोयलपुर-नेमुवा भित्री सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
गत कात्तिक ३ गते दिउँसो विपरीत दिशाबाट आउँदै गरेका प्रदेश १-०२-०४८ प ५६१० र को २७ प ८११७ नम्बरका मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बुढीगंगा गाउँपालिका-६ का ४० वर्षीय बलदेवकुमार विश्वास र सुन्दरहरैँचा नगरपालिका-२ मृगौलिया पत्थरघट्टाका ३६ वर्षीय तिलककुमार चौधरी घाइते भएका थिए । दुवैलाई विराट टिचिङ अस्पताल, गंगाचोकमा उपचारका लागि लगिएको थियो ।
शरीरको भित्री भागमा चोट लागेका बलदेवलाई उपचारकै क्रममा कात्तिक ५ गते साँझ ७स्४० बजे चिकित्सकले मृत घोषणा गरेका हुन् । चौधरीको दायाँ हात र खुट्टामा चोट लागेको छ ।
दुवै मोटरसाइकल इलाका प्रहरी कार्यालय नेमुवाको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























