
काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिका–२ स्वारामा ढुंगा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बालकलाई ढुंगाले टाउकोमा प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार शुक्रबार साँझ करिब ५ः३० बजेतिर स्थानीय बलबहादुर नाथका ६ वर्षीय छोरा रमेश नाथ घरनजिकको बाटोमा खेलिरहेका थिए । सोही क्रममा स्थानीय ३३ वर्षीय भक्तबहादुर नाथले एक्कासि बालकको टाउकोमा ढुंगा प्रहार गरेका थिए । प्रहरीका अनुसार आरोपित भक्तबहादुरको मानसिक अवस्था ठीक नभएको बुझिएको छ।
ढुंगा प्रहारबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि सुरुमा स्वास्थ्य चौकी पिपल लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल सल्ले पुर्याइएकोमा शुक्रबार राति १० बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न भएको आरोपमा भक्तबहादुर नाथलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।



















