
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधन कारबाहीमा परेका छन् ।
कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने १०२, सिसी क्यामरामार्फत ३९, रातो बत्तीमा सवारीसाधन चलाउने २० चालकलाई कारबाही गरिएको जानकारी दिए ।
यस्तै, तीव्र गतिमा सवारीसाधन चलाउने ५७, हर्न बजाएर सवारीसाधन चलाउने आठ, लेन अनुशासन पालन नगर्ने तीन, अवस्था ठीक नभएको दुई र अन्य कसुरमा १०५ सवारीसाधनलाई कारबाही गरिएको कार्यालयले जनाएको छ ।
ट्राफिक प्रहरीले चाडपर्वको समयमा सवारी नियम उलङ्घन गरी सवारीसाधन चलाउने चालकमाथि कडा निगरानी तथा कारबाही गर्दै आएको छ ।



















