
संखुवासभा । दसैँमा यातायातको समस्या भोग्ने नागरिकलाई लक्षित गरी खाँदबारीबाट सञ्चालन गरिएको निःशुल्क मोटरसाइकल सेवा ‘माइती-मावली सेवा’ बाट तीन दिनमा ७७ जनाले सुविधा लिएका छन् ।
अभियानका संयोजक मेघराज तोलाङ्गीका अनुसार पहिलो दिन १३ जना, दोस्रो दिन २२ जना र तेस्रो दिन ४२ जनाले सेवा लिएका हुन् । सार्वजनिक यातायातको अभाव र आवागमनमा हुने कठिनाइ कम गर्ने उद्देश्यले युवाहरूले यो अभियान सञ्चालन गरेका हुन् ।
‘निःशुल्क सेवा, निःस्वार्थ सेवक’ भन्ने नारासहित गत वर्षदेखि दसैँ र तिहारमा सञ्चालन हुँदै आएको अभियानमा १३ जना स्वयंसेवक खटिएका छन् । उनीहरूले चाडपर्वका बेला नागरिकलाई गन्तव्यसम्म पुग्न निःशुल्क मोटरसाइकल सेवा दिँदै आएका छन् ।
तोलाङ्गीका अनुसार संखुवासभाका अधिकांश स्थानीय तहमा सञ्चालन भइरहेको यो सेवा भोजपुरको षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकामा समेत विस्तार गरिएको छ । दसैँलक्षित सेवा शुक्रबारसम्म सञ्चालन हुने उनले बताए ।
युवाहरूको आफ्नै स्रोत, समय र श्रमबाट सञ्चालित अभियानले यातायातको असुविधा भोगिरहेका नागरिकलाई आवतजावतमा सहज बनाउने अपेक्षा गरिएको छ ।



















