भिक्सको गोली र हाम्रो बाल्यकाल

Share this
649shares
मुलुकी खबर
विवेक केशरी प्रसाईं
clock२०८३ कात्तिक ७, शनिबार १४:०८

हाम्रो बाल्यकालमा भिक्सको गोली घाँटी दुख्दा खाने औषधि मात्र थिएन, त्यो त एउटा सानो खुसी थियो । त्यसको स्वाद आज पनि जिब्रोमा र सम्झना मनमा ताजै छ ।

त्यतिबेला आजजस्तो थरीथरीका चकलेट र मिठाई कहाँ पाइन्थे र ! पसलमा भिक्सको गोली देख्दा मात्रै पनि मन लोभिन्थ्यो । कहिलेकाहीँ घाँटी नदुखे पनि खोकी लागेको बहाना बनाएर भिक्सको गोली मागिन्थ्यो ।

‘विक्स की गोली लो, खिचखिच दूर करो !’ रेडियोमा बज्ने त्यो विज्ञापन अझै कानमा गुन्जिएजस्तो लाग्छ ।

गोली मुखमा राखेपछि आउने पुदिनाको चिसो स्वाद, बिस्तारै घुल्दै जाने मिठास अनि त्यसलाई सकेसम्म धेरैबेर मुखमा राखिरहने हाम्रो बालसुलभ प्रयास ! कति साना थिए हाम्रा रहर, कति थोरै कुरामा रमाउँथ्यौँ हामी !

भिक्सको गोली त आज पनि पाइन्छ, तर त्यो गोली खाएर रमाउने हाम्रो बाल्यकाल अब कहिल्यै फर्केर आउनेछैन ।

त्यतिबेला न मोबाइल थियो, न इन्टरनेट । साथीहरू थिए, गल्लीहरू थिए, धुलाम्मे बाटाहरू थिए । साँझ परिसक्दा पनि घर फर्कन बिर्सिने गरी खेलिएका खेलहरू थिए। सानासाना कुरामै खुसी भेटिन्थ्यो ।

आज बजारमा महँगा चकलेट छन्, अनेक स्वादका मिठाई छन् । पैसा तिरेपछि चाहेको कुरा किन्न सकिन्छ । तर भिक्सको गोली खाँदा बाल्यकालमा मिल्ने त्यो आनन्द कहाँ किन्न पाइन्छ र !

आज अचानक भिक्सको गोली सम्झिँदा लाग्छ, हामी त्यतिबेला कति धनी रहेछौँ ! पैसा कम थियो, रहर साना थिए, तर खुसी अपार थियो ।

भिक्सको गोली त आज पनि पाइन्छ, तर त्यो गोली खाएर रमाउने हाम्रो बाल्यकाल अब कहिल्यै फर्केर आउनेछैन ।

तपाईंलाई पनि याद छ, भिक्सको त्यो गोली र त्यससँग जोडिएको आफ्नो बाल्यकाल ?

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×