नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सुरु

Share this
635shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ७, शनिबार १६:४३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दुईमहिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले अभियानको शुभारम्भ गरेका हुन् ।

राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र जनअधिकारको रक्षा, जनजीविकाका सवाल सम्बोधन तथा पार्टी समायोजन, सदस्यता नवीकरण र सङ्गठन सुदृढीकरण अभियानका मुख्य उद्देश्य रहेको नेकपाले जनाएको छ ।

अभियानमा सहभागी हुन अपिल जारी गर्दै संयोजक प्रचण्डले राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतासँग सम्बन्धित चुनौती तथा भूराजनीतिक चलखेलप्रति सचेत हुनुपर्ने बताए । उनले वर्तमान सरकारले फरक मतप्रति असहिष्णु व्यवहार देखाएको, अभिव्यक्ति स्वतन्त्रतामा रोक लगाउन खोजेको तथा निजी क्षेत्र र नागरिक अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाए ।

प्रचण्डले पार्टीका विगतका कामको इमानदारीपूर्वक समीक्षा गर्दै गल्ती र कमजोरीप्रति आत्मालोचना गर्ने तथा जनताको विश्वास बलियो बनाउने बताए । अभियानका क्रममा जनताका समस्या स्थानीय, प्रदेश र सङ्घीय तहका सम्बन्धित निकायमा पुर्‍याउने, मागपत्र तथा ज्ञापनपत्र बुझाउने र समाधानका लागि पहल गर्ने उनको भनाइ छ ।

राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता र नेपाली जनताको स्वतन्त्र निर्णय गर्ने अधिकारको रक्षाका लागि व्यापक राष्ट्रिय एकता आवश्यक रहेको प्रचण्डले बताए । उनले नेकपा र एमालेबीच तत्काल पार्टी एकताको सम्भावना नरहेको पनि स्पष्ट पारे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×