
उदयपुर । उदयपुरको कटारी नगरपालिका–४ मरुवास्थित सिद्धिचरण राजमार्गमा बोलेरो जिप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते भएका छन् । ब्रेक फेल भएपछि जिप सडकबाट करिब १० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार प्रदेश ३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप ब्रेक फेल भएर दुर्घटनामा परेको हो । दुर्घटनामा जिप चालक कटारी नगरपालिका–११ का २९ वर्षीय निर्पबहादुर खड्कासहित १५ जना घाइते भएका छन् ।
दुर्घटनामा घाइते हुनेमा झापा बिर्तामोड नगरपालिका– ६ की ३७ वर्षीया मेनुका मगर (भुजेल), १४ वर्षीय रेहान भुजेल, ७ वर्षीया प्रिन्सिका भुजेल (तीन जना आमा छोराछोरी), हेटौडा उपमहानगरपालिका–५ का १६ वर्षीय तेन्जु लामा, उदयपुरको कटारी नगरपालिका–२ का ७१ वर्षीय रामबहादुर मगर र उनकी छोरी ३५ वर्षीया लिसना मगर र सोही ठाउँकी ६० वर्षीया गोमा श्रेष्ठ रहेका छन् ।
त्यस्तै, कटाहरी–२ की ३९ वर्षीया अम्बिका दाहाल र उनका छोरा १० वर्षीय दीक्षित दाहाल, कटारी–११ की २१ वर्षीया निर्मला राउत, २६ वर्षीया दिलकुमारी हायु, उनका २२ महिनाका छोरा दियांस हायु, महोत्तरी गौशाला नगरपालिका–१ की ३५ वर्षीया कविता रेग्मी र सिन्धुली दुधौली नगरपालिका– ११ का प्रेम पौडेलको छोरा १० वर्षीय प्रदीप पौडेल घाइते भएका छन् ।
घाइते सबैलाई उपचारका लागि कटारी अस्पताल लगिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये रामबहादुर मगरलाई थप उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ । चालक खड्कालाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























