सर्वोच्च अदालतमा दुई वर्ष नाघेका ९ हजार ८ सय ५३ मुद्दा विचाराधीन

Share this
689shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १०, मंगलबार १०:४०

काठमाडौं । सर्वोच्च अदालतमा दुईदेखि १९ वर्षसम्म पुराना मुद्दा विचाराधीन छन् । पुराना मुद्दा छिटो टुंग्याउन अभियान फाँटमार्फत सातामा तीन दिन सुनुवाइ गर्ने व्यवस्था गरिए पनि कतिपय मुद्दा वर्षौँदेखि प्रारम्भिक सुनुवाइसमेत हुन सकेका छैनन् ।

सर्वोच्च अदालतका प्रवक्ता तथा सहरजिस्ट्रार डा. अशोककुमार क्षेत्रीका अनुसार पाँच वर्ष पुगेका मुद्दा स्वतः अभियान फाँटमा राख्ने, त्यस्ता मुद्दाको पेसी स्थगित नगर्ने र एकदेखि तीन महिनाभित्र सुनुवाइको मिति तोक्ने व्यवस्था छ । तर, कतिपय मुद्दामा आवश्यक प्रक्रिया पूरा नभएको र पेसी हेर्न नभ्याइने वा नमिल्नेमा परेका कारण ढिलाइ भइरहेको छ ।

सोमबारसम्म सर्वोच्चमा २६ हजार मुद्दा विचाराधीन छन् । तीमध्ये दुई वर्ष नाघेका ९ हजार ८ सय ५३, पाँच वर्ष नाघेका १ हजार २ सय ४९ र थुनुवासम्बन्धी १ हजार ६ सय मुद्दा छन् । संवैधानिक इजलासमा २ सय २८ मुद्दा छन् । जिल्ला र उच्च अदालतमा मुद्दा फर्स्योट दर ६५ प्रतिशतभन्दा माथि रहे पनि सर्वोच्चमा यो दर करिब ४० प्रतिशत मात्रै छ ।

पुराना मुद्दा व्यवस्थापनका लागि २०७९ जेठ १० गते गठित कार्यदलले छुट्टै इजलास र फाँट गठन गर्ने, पुराना मुद्दा स्थगित नगर्ने तथा सुनुवाइका लागि समय बढाउनेलगायत सुझाव दिएको थियो । फुलकोर्टबाट कार्ययोजना अनुमोदन भए पनि सबै सुझाव पूर्ण रूपमा कार्यान्वयन हुन सकेका छैनन् ।

सर्वोच्चमा विचाराधीन सबैभन्दा पुराना मुद्दामध्ये लाउडा विमान भाडासम्बन्धी भ्रष्टाचार मुद्दा १९ वर्षदेखि टुंगिएको छैन । २०६४ माघ १३ गते सर्वोच्च आइपुगेको यो मुद्दामा २०८२ भदौ २६ गतेका लागि तोकिएको पेसी पनि अदालतमा आगजनी भएपछि प्रभावित भएको थियो । त्यसयता एक वर्षसम्म पेसी नतोकिएको र पूर्ण इजलासमा प्रारम्भिक सुनुवाइसमेत हुन नसकेको विवरण छ ।

त्यस्तै, छायादेवी सेन्टरको जग्गा विवादसम्बन्धी मुद्दा पनि ११ वर्षदेखि विचाराधीन छ । २०८१ पुस ४ गते संयुक्त इजलासले पूर्ण इजलासमा पठाउन आदेश दिए पनि त्यहाँ सुनुवाइ हुन सकेको छैन । काभ्रेकी मैना सुनुवार हत्या मुद्दामा भने २०८२ असार २२ गते सर्वोच्चमा सुनुवाइ सकिएको थियो ।

सुरुमा भदौ ८ गते निर्णय सुनाउने मिति तोकिए पनि इजलास नतोकिँदा स्थगित भएको उक्त मुद्दामा अब मंसिर १० गते निर्णय सुनाउने गरी पेसी तोकिएको छ । पुराना मुद्दाको संख्या घटाउने अभियान चलिरहे पनि लामो समयदेखि सुनुवाइ र फैसला हुन नसक्दा सर्वोच्चको मुद्दा व्यवस्थापन र न्याय निरूपणको गति अझै चुनौतीपूर्ण देखिएको छ ।

तपाइको प्रतिक्रिया
झापामा हवाई फायर गरेर दुई जना पक्राउ
तार चोरीको लाञ्छनादेखि हत्यासम्म, घरमै बोलाएर लिइयो व्यापारीको ज्यान
सीमा अभिलेखमा नभएका भारतीय गाडी विराटनगरमा फेला, तीन पटकसम्म भन्सार अनुमति पाएको खुलासा
चोरी आरोपको बदला लिन हत्या, शव बोरामा हालेर खोलामा फालियो
विराटनगर भन्सारको राजस्व असुली लक्ष्यभन्दा बढी, असोजमा १००.२६ प्रतिशत संकलन
मौसमी जोखिम: उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह
तिहार र छठ नजिकिँदै, माटो र बाँसका सामग्रीको व्यापार बढ्यो
चक्रवातको असर नेपालमा फैलिँदै, तीन प्रदेशका हिमाली क्षेत्रमा उच्च जोखिम
सम्भावित मौसमी जोखिमबाट बच्न सतर्क रहन धनकुटा प्रशासनको आग्रह
झापाका विकास आयोजनाबारे सांसदको चासो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×