
काठमाडौं । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन मेयर देवनाथ साहु तेली र उपमेयर रेशमकुमारी थापासहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा पशु, बाख्रा र गुदरी हाटबजारको ठेक्कामा अनियमितता गरी रकम हिनामिना गरेको आरोपमा आज (मंगलबार) विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
मुद्दा दायर गरिएकामा तत्कालीन नगरप्रमुख तेली, उपप्रमुख थापा, प्रमुख प्रशासकीय अधिकृतद्वय श्रीधर केसी र अनन्तकुमार पौड्याल, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनारायण महतो, राजस्व शाखा प्रमुख दिनेशकुमार सहनी र हाटबजार ठेकेदार वीरेन्द्रकुमार यादव छन् ।
आयोगका अनुसार उनीहरूमाथि १ करोड ६० लाख ११ हजार ४३१ रुपैयाँ हिनामिना गरेको आरोप छ । तत्कालीन नगरप्रमुख तेली, उपप्रमुख थापा, प्रमुख प्रशासकीय अधिकृत केसी, राजस्व शाखा प्रमुख सहनी र ठेकेदार यादवसँग १ करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ बिगो माग गरिएको छ ।
त्यस्तै, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पौड्याल र निमित्त प्रमुख प्रशासकीय अधिकृत महतोसँग १ करोड ३३ लाख ११ हजार ४३१ रुपैयाँ बिगो माग गरिएको आयोगले जनाएको छ ।
नगरपालिकाको आर्थिक ऐन तथा प्रचलित कानुनविपरीत २७ लाख ३४ हजार ९१३ रुपैयाँ छुट दिएको, पशु, बाख्रा र गुदरी हाटबजारको ठेक्का प्रतिस्पर्धाबिनै सोझै यादवलाई दिएको तथा सञ्चित कोषमा दाखिला गर्नुपर्ने रकम असुल नगरी १ करोड ३३ लाख ११ हजार ४३१ रुपैयाँ हिनामिना गरेको आरोप उनीहरूमाथि लगाइएको छ ।

























