
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाजमा आफ्नै विद्वान्लाई बेवास्ता गर्ने र बाहिरबाट आउने व्यक्तिलाई देवत्वकरण गर्ने प्रवृत्तिमाथि व्यङ्ग्य गरेका छन् ।
आज (मंगलबार) काठमाडौंमा मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै ओलीले ‘नक्कली भगवान्’ जन्मिने क्रम बढेको भन्दै कटाक्ष गरे ।
पौराणिक प्रसङ्ग उल्लेख गर्दै उनले देवताहरूको जन्म रोकिएपछि नक्कली भगवान् जन्मिन थालेको टिप्पणी गरे । ‘पार्वतीले श्राप दिएपछि फेरि नक्कली भगवान् जन्मिएर हैरान छ,’ ओलीले भने ।
उनले दक्षिणतिरबाट आउने जोगीलाई विशेष सम्मान गर्ने तर आफ्नै देशका विद्वान् र उनीहरूले लेखेका ग्रन्थलाई पर्याप्त महत्त्व नदिने प्रवृत्तिप्रति पनि असन्तुष्टि जनाए । आफ्नै ज्ञान र दर्शनको पहिचान गर्न नसक्ने तर विदेशीका पुस्तक र भनाइलाई बढी महत्त्व दिने प्रवृत्ति उचित नभएको उनको भनाइ थियो ।

























