
विराटनगर । मोरङको उर्लाबारीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
उर्लाबारी नगरपालिका–६ स्थित उर्लाबारी गोलचोकमा मंगलबार साँझ ट्रकले स्कुटरलाई ठक्कर दिँदा उर्लाबारी नगरपालिका–८ का करिब ५० वर्षीय लोकेन्द्र थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पूर्व–पश्चिम लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ जाने क्रममा रहेको बागमती प्रदेश ०१–००४ क २२२८ नम्बरको ट्रकले बाटो पार गर्दै गरेको प्रदेश १–०१–०१६ प ८००२ नम्बरको स्कुटरलाई साँझ करिब ५ः५० बजेतिर ठक्कर दिएको थियो ।
दुर्घटनामा स्कुटर चालक थापाको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो । उनलाई तत्काल उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल लगिएकोमा साँझ ६ः०५ बजेतिर चिकित्सकले मृत घोषणा गरिदिएको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले बताए ।
मृतकको शव अरनिको अस्पतालमै रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न ट्रकका चालक पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ का ३४ वर्षीय खड्गप्रसाद लावतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा संलग्न ट्रक र स्कुटरसमेत इलाका प्रहरी कार्यालय उर्लाबारीको नियन्त्रणमा रहेका छन् । प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ ।



















