
विराटनगर । मोरङको ग्रामथानमा पैदलयात्रीलाई मोटरसाइकलले ठक्कर दिएर मृत्यु भएपछि फरार रहेका चालक पक्राउ परेका छन् । दुर्घटनामा संलग्न चालक दुई सातापछि पक्राउ परेका हुन् ।
ग्रामथान गाउँपालिका–५ तेतरिया चोकस्थित विराटचोक–घिनाघाट सडकखण्डमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी ७० वर्षीया नरमाया त्रितालको उपचारका क्रममा मृत्यु भएको थियो । गत असोज २४ गते साँझ करिब ७ बजेतिर विराटचोकबाट विराटनगरतर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकलले गाउँपालिका कार्यालयअगाडि बाटो काट्दै गरेकी त्रिताललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको थियो । उपचारका क्रममा असोज २५ गते बिहान ४ बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि फरार रहेका मोटरसाइकल चालक ग्रामथान गाउँपालिका–३ का २७ वर्षीय अभिषेककुमार माझीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । प्रहरी चौकी तेतरिया र इलाका प्रहरी कार्यालय बेलबारीको संयुक्त टोलीले माझीलाई उनकै घरबाट को ३९ प ३४६ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए ।
उक्त मोटरसाइकलले दुर्घटना गराएको प्रहरीले जनाएको छ । माझीलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको छ । प्रहरीले माझीविरुद्ध सवारी ज्यान मुद्दा चलाउन मोरङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।



















