
एजेन्सी । क्यानाडाको अल्बर्टा प्रान्तस्थित क्यालगरीमा तीन ‘यौन आक्रमण’ का घटनामा ७२ वर्षीय रिचर्ड हुबर्ट जोन्स दोषी ठहरिएका छन् । करिब ४० वर्षदेखि अनसुल्झिएको यो प्रकरणमा प्रहरीले डीएनए परीक्षण प्रविधिको सहायताले उनलाई घटनासँग जोडेको हो ।
जोन्समाथि नौवटा कसुरमा अभियोग लगाइएको थियो । पीडितमा दुई महिला र १३ वर्षीया किशोरी थिए । तीनै जना आफ्नै घरमा रहेका बेला आक्रमणमा परेका थिए । पीडितलाई प्रहरीमा खबर गरे आफू फेरि फर्केर आउने भन्दै धम्की दिइएको थियो ।
पहिलो घटना सन् १९८४ फेब्रुअरी २० मा क्यालगरीको थर्नक्लिफ क्षेत्रमा भएको थियो । त्यतिबेला १३ वर्षीया किशोरी पाँच वर्षीय भाइको हेरचाह गरिरहेकी थिइन् । एक महिनापछि अर्को महिलामाथि आक्रमण भएको थियो । तेस्रो घटना सन् १९८५ जुनमा सहरको दक्षिणपश्चिम क्षेत्रमा भएको थियो । पीडितमध्ये एक महिलाको सन् २००७ मै मृत्यु भएको थियो ।
तीनै घटनामा प्रहरीले त्यतिबेलै प्रमाण सङ्कलन गरेको थियो । तर, त्यसबेला उपलब्ध प्रविधिबाट आक्रमणकारीको पहिचान हुन सकेको थिएन । पछि फरेन्सिक प्रविधि र अनुसन्धान विधिमा भएको विकाससँगै प्रहरीले पुराना प्रमाण पुनः परीक्षण गर्दा तीनै घटनाबीच सम्बन्ध रहेको पत्ता लगाएको थियो ।

























