
इलाम । मेची कोरिडोर (केचना-कञ्चनजङ्घा सडक) अन्तर्गत इलामको बेलासे-गोलाखर्क भञ्ज्याङ सडक खण्डको स्तरोन्नति गर्ने ठेक्का सम्झौता अन्त्य गरिएको छ ।
२७ करोड २२ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको ९.५ किलोमिटर सडक आयोजना २०८० पुस २९ गतेभित्र सम्पन्न गर्नुपर्ने थियो । तर, पटक-पटक म्याद थप गर्दा पनि आयोजनाको भौतिक प्रगति ४७ प्रतिशतमा सीमित भएपछि ठेक्का सम्झौता अन्त्य गरिएको हो ।
पछिल्लो सात महिनामा तीन प्रतिशतभन्दा कम मात्रै भौतिक प्रगति भएपछि पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको इलाम सडक डिभिजनले ठेक्का सम्झौता तोडेको जनाएको छ ।
इलाम सडक डिभिजनले आर्थिक वर्ष २०८१/८२ देखि हालसम्म १२ वटा ठेक्का सम्झौता अन्त्य गरिसकेको छ । यस क्रममा निर्माण व्यवसायीबाट पेस्कीबापतको दुई करोड ३८ लाख रुपैयाँ असुल गरिएको छ । त्यस्तै, छ करोड ७९ लाख रुपैयाँ बराबरको कार्यसम्पादन जमानत जफत गर्न सम्बन्धित बैंकलाई पत्राचार गरिएको छ ।
ठेक्का सम्झौता अन्त्य गरिएको सडक खण्डको निर्माणलाई निरन्तरता दिन आवश्यक स्रोत सहमति र बहुवर्षीय ठेक्का सहमति प्राप्त गरी नयाँ ठेक्का प्रक्रिया अघि बढाइने सडक डिभिजनले जनाएको छ ।



















