अर्कैको शवलाई छोरा ठानेर अन्त्येष्टि, मृतक भनिएका व्यक्ति घर फर्किए

Share this
651shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १२, बिहीबार १३:१९

विराटनगर । आफन्तको मृत्यु भएको ठानेर अन्त्येष्टि गरिसकेको परिवारका लागि त्यो क्षण कल्पनाभन्दा बाहिरको थियो, जब मृतक भनिएका व्यक्ति नै घरको ढोकामा आइपुगे ।

मोरङको लेटाङ नगरपालिका–५ खेरुवाका पदमबहादुर राई जीवितै घर फर्किएपछि परिवारमा खुसीसँगै एउटा गम्भीर प्रश्न उब्जिएको छ– अन्त्येष्टि गरिएको शव आखिर कसको थियो ? ३६ वर्षीय पदमबहादुर गत माघदेखि घरपरिवारको सम्पर्कमा थिएनन् । मानसिक स्वास्थ्य अवस्था कमजोर रहेका उनी बेलाबेला कसैलाई जानकारी नदिई घर छाडेर हिँड्ने गर्थे । यसअघि हराउँदा कहिले आफैँ फर्किने त कहिले परिवारले खोजेर ल्याउने गरेको थियो । तर, माघमा घर छाडेपछि उनी लामो समयसम्म सम्पर्कविहीन रहे ।

यहीबीच गत जेठ २६ गते सुनसरीको बराहक्षेत्र नगरपालिका–४ स्थित चतरा–पकली सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री गम्भीर घाइते भए । उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल पुर्‍याइएका उनको भोलिपल्ट मृत्यु भयो ।

मृतकको पहिचान खुल्न नसकेपछि प्रहरीले शव कोशी अस्पतालको शवगृहमा राखेर आफन्तको खोजी गर्न सार्वजनिक सूचना जारी गरेको थियो । सूचना पाएपछि अस्पताल पुगेकी पदमबहादुरकी आमाले शव आफ्नै छोराको भएको भन्दै सनाखत गरिन् । त्यसपछि प्रहरीले शव परिवारलाई बुझायो ।

परिवारले चिसाङ खोलामा लगेर अन्त्येष्टि गर्‍यो । छोरा गुमाएको शोकमा यसपालिको दसैँमा परिवारले टीकासमेत लगाएन । तर, दसैँको पूर्णिमाका दिन पदमबहादुर अचानक घर फर्किएपछि परिवार स्तब्ध बन्यो । जसलाई मृत ठानेर अन्तिम संस्कार गरिएको थियो, उनी त जीवितै थिए ।

पदमबहादुरले आफू भारतमा रहेको दाबी गरेका छन् । उनी माघदेखि कहाँ बसे, कसरी त्यहाँ पुगे र यति लामो समयपछि घर फर्किनुको कारण के हो भन्ने विषय भने स्पष्ट भइसकेको छैन ।

एउटा अन्त्येष्टि, अनेक प्रश्न

पदमबहादुर जीवितै भेटिएपछि परिवारको खुसीसँगै दुर्घटनामा मृत्यु भएका व्यक्तिको पहिचानसम्बन्धी प्रश्न गम्भीर बनेको छ । परिवारले अन्त्येष्टि गरिसकेको शव कसको थियो भन्ने पत्ता लगाउनुपर्ने अवस्था आएको छ । दुर्घटनामा मृत्यु भएका व्यक्तिका आफन्त अहिलेसम्म सम्पर्कमा नआएको अवस्थामा उनको वास्तविक पहिचान खुलाउन प्रहरीले पुनः अनुसन्धान गर्नुपर्ने भएको छ ।

स्थानीयका अनुसार परिवारमा खुसी छाए पनि अर्कै व्यक्तिको शव अन्त्येष्टि गरिएको हुन सक्ने विषयले त्रास बढाएको छ । मृत्यु संस्कार पूरा गरिसकेको छोरा फर्किनु परिवारका लागि असाधारण घटना भएको स्थानीय बताउँछन् ।

प्रहरीका अनुसार दुर्घटनापछि परिवारले बीमाबापतको क्षतिपूर्ति रकमसमेत बुझिसकेको छ । पदमबहादुर जीवितै भेटिएपछि उक्त रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाइने मोरङ प्रहरीले जनाएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले सरकारी अभिलेखमा बेवारिसे शवका रूपमा विवरण सच्याउने र दुर्घटनामा मृत्यु भएका वास्तविक व्यक्तिको पहिचानका लागि पुनः अनुसन्धान गरिने जानकारी दिए । घटनाका बारेमा थप बुझ्न इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक सागर साह नेतृत्वको टोली पदमबहादुरको घर पुगेको थियो । एसपी कटुवालका अनुसार परिवारलाई कोशी अस्पताल बोलाइएको छ । शव सनाखतका क्रममा तयार भएका कागजात फिर्ता लिने तथा मृतकको पहिचान खुलाउने प्रक्रिया अघि बढाइनेछ ।

पदमबहादुरकी आमाले शव आफ्नै छोराजस्तो देखिएकाले सनाखत गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक बुझाइ छ । तर, शवको पहिचान कसरी यकिन गरिएको थियो, त्यसबेला के–कस्ता प्रक्रिया अपनाइएका थिए र वास्तविक मृतक को हुन् भन्ने प्रश्नको जवाफ अनुसन्धानपछि मात्रै खुल्नेछ ।

मृत्यु संस्कार गरिसकेको व्यक्ति जीवितै फर्किएपछि यो घटना एउटा परिवारको असाधारण अनुभवमा मात्र सीमित छैन । यसले बेवारिसे शवको पहिचान, आफन्तबाट गरिने सनाखत र शव हस्तान्तरणअघि अपनाइने प्रक्रियाको विश्वसनीयतामाथि समेत प्रश्न उठाएको छ ।

तपाइको प्रतिक्रिया
बिरामीलाई सहज र गुणस्तरीय सेवा दिन ६ स्वास्थ्य प्रतिष्ठानसँग कार्यसम्पादन सम्झौता
निर्वाचन प्रहरीको पोसाक खरिदमाथि संसदीय छानबिन, कागजात सीसीटीभीको निगरानीमा
अर्कैको शवलाई छोरा ठानेर अन्त्येष्टि, मृतक भनिएका व्यक्ति घर फर्किए
एनपीएलः जनकपुरविरुद्ध काठमान्डुले टस जितेर रोज्यो ब्याटिङ
एनपीएलः जनकपुरविरुद्ध काठमान्डुले टस जितेर रोज्यो ब्याटिङ
पीसीसी बैठकअघि सातै प्रदेशका डीआईजी पनि काठमाडौंमा
भारतमा चक्रवातको कहर : सात जनाको ज्यान गयो, १ लाख ८० हजारभन्दा बढीको उद्धार
‘अर्नब’ चक्रवातको जोखिम : कोशीमा उच्च सतर्कता
कानुन निर्माणमा संसद्को भूमिका कमजोर हुने चिन्ता
पाँचथरका दुई जना ब्राउन सुगरसहित काठमाडौंमा पक्राउ
इटहरीमा १० हजार ७८० क्याप्सुल र ट्याब्लेटसहित तीन जना पक्राउ
सामान्य बढ्यो सुनचाँदीको मूल्य
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×