
काठमाडौं । नेपाली कांग्रेसले मंसिर महिनालाई पार्टीको नीति, कार्यक्रम र भावी कार्यदिशा नागरिकसम्म पुर्याउने अभियानका रूपमा उपयोग गर्ने भएको छ । त्यसका लागि पार्टीले मंसिरभर ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा सभापति गगनकुमार थापाले अभियानको प्रस्ताव अघि सारेका हुन् । कांग्रेसलाई मुलुकको राजनीतिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक चुनौतीको समाधान दिन सक्षम पार्टीका रूपमा जनतामाझ स्थापित गर्न अभियान आवश्यक रहेको उनले बताएका थिए ।
थापाले महाधिवेशनमा समीक्षा र आत्मालोचनाको चरण पूरा भइसकेकाले अब भाषण र प्रतिबद्धतामा मात्रै सीमित नभई कामबाट परिणाम देखाउनुपर्ने धारणा राखेका थिए । नागरिकका समस्या पहिचान गर्दै तिनको समाधानमा पार्टीलाई सक्रिय बनाउनु अभियानको मुख्य उद्देश्य रहेको उनको भनाइ थियो ।
बैठकमा महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम र सांगठनिक प्रस्तावलाई व्यवस्थित दस्तावेजका रूपमा तयार गरी केन्द्रीय कार्यालयमार्फत पार्टीका तल्लो तहसम्म पुर्याउने विषयमा पनि जोड दिइएको थियो । पारित प्रस्तावलाई अन्तिम रूप दिन आवश्यक सुझाव, संशोधन र थप विषय केन्द्रीय कार्यालयमा पठाउन सभापति थापाले नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

























