झापा महिला गोल्डकपको टिकट दर सार्वजनिक 

Share this
705shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १३, शुक्रबार १५:३०

बिर्तामोड । दोस्रो संस्करणको एक्स्ट्रिम झापा महिला गोल्डकपको टिकट मूल्य यथावत् रहने भएको छ । आयोजक समितिले गत वर्ष भएको पहिलो संस्करणकै टिकट मूल्य कायम गरेको हो ।

झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्राका अनुसार प्रतियोगिताका लागि मैदानमा दर्शकको सुविधालाई ध्यानमा राख्दै प्यारापिट निर्माण भइरहेको छ । करिब तीन हजार दर्शक क्षमताको रिङलक प्रविधिमा आधारित आधुनिक अस्थायी प्यारापिट जडान गरिएको छ ।

प्रतियोगिताअन्तर्गत चारवटा क्वार्टर फाइनल खेलका लागि प्यारापिटको स्थानअनुसार १०० र २०० रुपैयाँको टिकट निर्धारण गरिएको गोल्डकपका सचिवालय प्रमुख हिमाल खरेलले जानकारी दिए ।

मैदानको उत्तर र दक्षिणतर्फ बाँसका प्यारापिटमा बसेर खेल हेर्न १०० रुपैयाँ तथा पूर्वतर्फको सुविधा सम्पन्न रिङलक प्यारापिटमा बस्न २०० रुपैयाँ तिर्नुपर्नेछ । सेमिफाइनल खेलका लागि २०० रुपैयाँ र ३०० रुपैयाँ टिकट तोकिएको छ ।

फाइनल खेलको टिकट दर भने ५०० रुपैयाँ तोकिएको छ । भिआइपी टिकट प्रत्येक दिन एक हजार रुपैयाँ निर्धारण गरिएको छ । भिआइपी दर्शकले मञ्च रहेको पक्की प्यारापिटमा बस्न पाउने छन् ।

प्रतियोगिता यही मंसिर ५ गतेदेखि १२ गतेसम्म झापाको शिवसताक्षी–११ स्थित दुधे रंगशालामा हुँदैछ । आयोजकका अनुसार बिक्री हुने प्रत्येक टिकटबाट १० रुपैयाँ आदिवासी दृष्टिविहीन तथा अटिजम भएका बालबालिकाको सहयोगमा खर्च गरिनेछ ।

दर्शक व्यवस्थापनलाई व्यवस्थित बनाउन मैदानको पूर्वतर्फ ग्याल्भनाइज्ड स्टिलका पाइप, क्ल्याम्प तथा कप्लर प्रयोग गरी बलियो अस्थायी प्यारापिट निर्माण भइरहेको छ । अध्यक्ष थोप्राका अनुसार प्रत्येक खेलमा करिब ७ हजार दर्शक अटाउन सक्नेगरी प्यारापिट निर्माणको व्यवस्था मिलाइँदै छ । आठ टिम सहभागी हुने प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.