
धनकुटा । वर्षायाममा हिलाम्मे सडकका कारण दूध र तरकारी बजार पुर्याउन सास्ती खेप्दै आएका धनकुटाको महालक्ष्मी र छथर जोरपाटी क्षेत्रका किसानलाई अब केही राहत मिल्ने भएको छ । कृषि उत्पादनका लागि महत्त्वपूर्ण मानिएको सिधुवा-जितपुर सडक कालोपत्रे गर्ने काम सुरु भएको छ ।
महालक्ष्मी नगरपालिका केन्द्र जितपुर जोड्ने रणनीतिक महत्त्वको यस सडकको कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्य र स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुलीले संयुक्त रूपमा शिलान्यास गरेका हुन् । महालक्ष्मी नगरपालिका नागेश्वर मार्गअन्तर्गत सिधुवा-आहाले खण्डमा सडक कालोपत्रे हुन लागेको हो ।

धनकुटामा सबैभन्दा बढी दूध र बेमौसमी तरकारी उत्पादन हुने क्षेत्रमध्ये महालक्ष्मी नगरपालिका र छथर जोरपाटी गाउँपालिका पर्छन् । तर, पक्की सडक नहुँदा विशेषगरी वर्षायाममा किसानले उत्पादन समयमै बजार पुर्याउन सकेका थिएनन् । दूध र तरकारी बाटोमै बिग्रिने तथा ढुवानीमा समस्या हुने गरेको थियो । महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुरसम्म अझै कालोपत्रे सडक नपुगेकाले सेवाग्राहीले पनि सास्ती भोग्दै आएका थिए ।
पूर्वाधार विकास कार्यालय धनकुटाका अनुसार पहिलो चरणमा सिधुवा बजारदेखि जितपुरतर्फ चार किलोमिटर सडक अस्फाल्ट कङ्क्रिट प्रविधिबाट कालोपत्रे गरिनेछ । कुल १९ करोड ९९ लाख ९९ हजार रुपैयाँ लागत अनुमान गरिएको योजनाको ठेक्का ११ करोड ९ लाख २५ हजार रुपैयाँमा याशुकीरभानुमती जेभीले पाएको छ ।
साढे पाँच मिटर चौडाइ रहने सडकमा नाली, कल्भर्ट, कजवे र पर्खालसमेत निर्माण गरिनेछ । २०८५ वैशाखभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
शिलान्यास कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री आचार्यले कृषि उत्पादन र नागरिकको दैनिक जीवनसँग जोडिएका सडक प्रदेश सरकारको प्राथमिकतामा रहेको बताए । किसानले उत्पादन गरेको तरकारी र दूध सडककै कारण नोक्सान हुने अवस्था अन्त्य गर्न गुणस्तरीय काम समयमै सम्पन्न हुनुपर्ने उनको भनाइ थियो । उनले काममा बजेट अभाव हुन नदिने प्रतिबद्धतासमेत जनाए ।

स्वास्थ्यमन्त्री पराजुलीले जितपुर हुँदै लेगुवासम्मको बाँकी सडक खण्ड निर्माणका लागि पनि थप बजेट सुनिश्चित गर्ने बताए । वर्षायाममा सडक निर्माणले कृषि उपजको ढुवानी प्रभावित हुन सक्ने भएकाले हिउँद सुरु भएसँगै कामलाई तीव्रता दिइएको उनले जानकारी दिए ।
कार्यक्रममा प्रदेश सभा सदस्य निरन राई, महालक्ष्मी नगरपालिकाकी उपप्रमुख मञ्जु कार्की र छथर जोरपाटी गाउँपालिकाकी उपाध्यक्ष गीता गुरुङले सडक निर्माणले स्थानीय अर्थतन्त्र, कृषि बजार र नागेश्वर मन्दिरलगायतका पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा सहयोग पुग्ने बताए ।
निर्माण व्यवसायीका प्रतिनिधि किशोर भट्टराईले स्थानीयस्तरबाट आवश्यक सहयोग प्राप्त भए निर्धारित समयमै गुणस्तरीय सडक निर्माण गरेर हस्तान्तरण गर्ने प्रतिबद्धता जनाए । पूर्वाधार विकास मन्त्रालयका सचिव मिलन आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय किसान र सेवाग्राहीको सहभागिता थियो ।



















