झापाको बुद्धशान्तिमा धान खेतमा सयपत्री खेती

Share this
783shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १५, आइतबार १०:०१

झापा । बुद्धशान्ति गाउँपालिका-३ दुइरिङ्गेका तीन किसानले धान फल्ने १० कट्ठा खेतमा व्यावसायिक सयपत्री फूलखेती सुरु गरेका छन् । विनोद रिजाल, गुणराज न्यौपाने र वीरबल बानियाँले ‘कृषि कम्पास’ समूह गठन गरी पाँच लाख ५० हजार रुपैयाँ लगानीमा सात हजारभन्दा बढी सयपत्रीका बिरुवा रोपेका हुन् । यसबाट १० हजार माला उत्पादन गरी १० देखि १२ लाख रुपैयाँसम्म आम्दानी गर्ने उनीहरूको लक्ष्य छ ।

समूहका सदस्य गुणराज न्यौपानेका अनुसार सोही जग्गामा धानखेती गर्दा वार्षिक करिब ५० हजार रुपैयाँ मात्र आम्दानी हुन्थ्यो । फूलखेतीबाट एकै सिजनमा धानखेतीको तुलनामा कैयौँ गुणा बढी आम्दानी हुने देखिएपछि उनीहरूले यो विकल्प रोजेका हुन् । एउटा मालाको मूल्य एक सयदेखि एक सय ५० रुपैयाँसम्म पर्ने भएकाले बजारमा राम्रो सम्भावना रहेको किसानको भनाइ छ । खेतीको सफलता र मागलाई हेरेर आगामी वर्ष तीन बिघा क्षेत्रफलमा खेती विस्तार गर्ने योजना रहेको अर्का सदस्य विनोद रिजालले बताए ।

यद्यपि, फूललाई ताजा राख्ने चुनौती र भारतबाट हुने अनधिकृत फूल आयातले स्थानीय बजार प्रभावित हुने चिन्ता किसानमा छ। यस विषयमा जिल्लाका किसानले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई भेटेर सातबुँदे मागपत्र बुझाएका थिए । किसानको मागबारे स्थलगत जानकारी लिन शनिबार बुद्धशान्ति पुगेका प्रमुख जिल्ला अधिकारी पोखरेलले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने र आयात नियन्त्रणमा प्रशासनले सहयोग गर्ने आश्वासन दिएका छन् ।

स्थानीय अभियानकर्मी मनिष दाहालका अनुसार झापाका विभिन्न क्षेत्रमा व्यावसायिक फूलखेतीप्रति किसानको आकर्षण बढ्दो छ । उचित भण्डारण र बजारको व्यवस्थापन गर्न सके धानखेतीमा मात्र निर्भर किसानका लागि यो नयाँ आम्दानीको स्रोत बन्न सक्ने देखिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.