
काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित चार जनाविरुद्ध संसदीय सुनुवाइ समितिमा आठ वटा उजुरी परेका छन् ।
समितिले गत कात्तिक ९ गते प्रस्तावित न्यायाधीशहरूविरुद्ध उजुरी आह्वान गरेको थियो । शुक्रबारसम्म आठ वटा उजुरी परेको समितिले जनाएको छ ।
उजुरी दिने समय कात्तिक १९ गतेसम्म तोकिएकाले उजुरीको संख्या थप बढ्न सक्ने समितिको भनाइ छ ।
गत असोज २० गते बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । उनीहरूको नियुक्तिअघि संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइएको हो ।

























