
डोल्पा । डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ कैदीबन्दी अझै पक्राउ परेका छैनन् । उनीहरूको खोजी तीव्र बनाएको प्रहरीले सर्वसाधारणसँग सहयोग माग्दै फरार व्यक्तिहरूको तस्बिर र विवरण सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय डोल्पाले आइतबार सूचना जारी गर्दै फरार व्यक्तिहरूलाई कतै देखेमा वा उनीहरूबारे जानकारी पाएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न आग्रह गरेको हो ।
प्रहरीले सूचना दिनका लागि १००, ०८७–५५००५६, ९८५८३९०५८६ र ९८५८३०५५५५ नम्बर सार्वजनिक गरेको छ । प्रहरीका अनुसार फरार हुनेमा डोल्पाका दुई, जाजरकोटका दुई, रुकुमपश्चिमका तीन र सल्यानका एक जना छन् । उनीहरूमध्ये ६ जना कैदी र दुई जना थुनुवा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रवक्ता विनय सिंहले फरार व्यक्तिहरूको खोजी जारी रहेको बताए । उनका अनुसार खोजी कार्यलाई प्रभावकारी बनाउन उनीहरूको विवरण सार्वजनिक गरी सर्वसाधारणसँग समेत सहयोग मागिएको छ । गत शुक्रबार राति कारागारबाट सुरुङ खनेर उनीहरू फरार भएका थिए ।



















