
सुनसरी । विदेशमा सात वर्ष बिताएका सुनसरीको बराहक्षेत्र नगरपालिका–११ मधुवनका रोशनप्रसाद गुप्ताले स्वदेशमै सम्भावना खोजे र च्याउखेतीमा भविष्य बनाए । ५० हजार रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले उनको परिवारको मुख्य आम्दानीको स्रोत बनेको छ । यही व्यवसायबाट सबै खर्च कटाएर वार्षिक १५ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न उनी सफल भएका छन् ।
विदेशमा पसिना बगाएर मात्रै जीवनस्तर बदल्न कठिन देखेपछि गुप्ताले स्वदेश फर्किएर केही गर्ने योजना बनाए । सोही योजनाअनुसार २०७७ सालमा भाइ भरतसँग मिलेर च्याउखेती सुरु गरे । सुरुमा लगानी सानो थियो, अनुभव पनि थिएन । पहिलो वर्ष घाटा व्यहोर्नुपर्यो । तर, असफलताबाट निराश नभई खेतीलाई निरन्तरता दिएपछि अहिले व्यवसायले राम्रो गति लिएको छ ।
गुप्ताले हाल करिब छ कट्ठा जग्गामा छवटा टनेल निर्माण गरेर च्याउ उत्पादन गरिरहेका छन् । उनको फार्मबाट दैनिक दुई सय किलोभन्दा बढी च्याउ उत्पादन हुन्छ । वार्षिक उत्पादन ३० टनभन्दा बढी पुग्ने गरेको छ ।
उत्पादन भएको च्याउ बिक्री गर्न बजार खोज्दै हिँड्नुपर्ने अवस्था भने छैन । धरान, इटहरी, इनरुवा, दुहबी, गाईघाट, राजविराज, बराहक्षेत्र, चतरा लगायतका बजारमा उनको उत्पादन पुग्ने गरेको छ । अहिले प्रतिकिलो १८० देखि १९० रुपैयाँसम्ममा च्याउ बिक्री भइरहेको छ । फार्ममै आएर खरिद गर्ने व्यापारीलाई भने केही कम मूल्यमा दिने गरिएको छ ।
गुप्ताका अनुसार च्याउको मूल्य मौसमअनुसार घटबढ हुन्छ । गर्मीको तुलनामा मंसिर, पुस र माघमा मूल्य राम्रो पाइन्छ । ती महिनामा प्रतिकिलो २२० रुपैयाँसम्म बिक्री हुने गरेको छ । गत वर्षको तुलनामा यस वर्ष मूल्य केही घटे पनि उत्पादन र बजारको निरन्तरताले व्यवसायलाई टिकाइरहेको उनले बताए ।
च्याउखेतीले गुप्ताको आर्थिक अवस्था मात्र बदलेको छैन । गाउँमै रोजगारी सिर्जना गर्ने अवसर पनि दिएको छ । उनको फार्ममा अहिले छ जना कामदारले रोजगारी पाएका छन् । खेतीको व्यवस्थापन, च्याउ टिप्ने र बजारसम्म पुर्याउने काममा परिवारका सदस्य पनि सक्रिय छन् ।
च्याउखेतीका लागि ठूलो क्षेत्रफलको जग्गा आवश्यक नपर्ने उनको अनुभव छ । पराल, चुन, बाँस, खर र प्लास्टिकजस्ता सामग्रीको प्रयोगबाट टनेल निर्माण गरी खेती गर्न सकिन्छ । चैतमा लगाइएको च्याउ वैशाखको अन्तिम सातादेखि टिप्न तयार हुन्छ । वर्षमा करिब १० महिनासम्म उत्पादन लिन सकिने उनले बताए । खेतीमा विषादी प्रयोग नगरी उत्पादन गर्ने गरिएको र उपभोक्तामा यस्तो च्याउप्रति आकर्षण बढ्दै गएको उनको भनाइ छ ।
व्यवसाय सुरु गर्दा प्राविधिक ज्ञानको अभावले समस्या भोगेका गुप्ताले काम गर्दै जाँदा सिप र अनुभव हासिल गरे । उत्पादन व्यवस्थापनदेखि बजारसम्मको अनुभवले अहिले खेती सञ्चालन गर्न सहज भएको छ ।
उनको व्यवसाय विस्तारमा सरकारी अनुदानले पनि सहयोग पुर्याएको छ । २०८० सालमा सुनसरी कृषि ज्ञान केन्द्रबाट एक लाख रुपैयाँ र बराहक्षेत्र नगरपालिकाबाट ९० हजार रुपैयाँ अनुदान पाएका थिए । नगरपालिकाबाट ५० प्रतिशत अनुदानमा मिनीट्याक्टर, सफारी, टनेललगायत सामग्रीसमेत प्राप्त भएपछि खेतीको काम थप सहज भएको उनले बताए ।
सात वर्ष विदेशमा बिताएका गुप्ता अहिले आफ्नै गाउँमा व्यवसाय गरेर सन्तुष्ट छन् । विदेशमा धेरै मिहिनेत गर्दा पनि आम्दानीले खर्च धान्न मुस्किल हुने गरेको अनुभव सुनाउने उनी स्वदेशमै उद्यम गर्न युवालाई आग्रह गर्छन् ।
थोरै दुःख र मिहिनेत गर्ने हो भने नेपालमै राम्रो आम्दानी गर्न सकिन्छ,’ गुप्ता भन्छन्, ‘युवा वैदेशिक रोजगारीमा जानैपर्छ भन्ने छैन । गाउँमै थोरै लगानीबाट व्यवसाय सुरु गरेर पनि जीवन चलाउन सकिन्छ ।’
५० हजार रुपैयाँको सुरुवाती लगानीबाट सुरु भएको उनको च्याउखेती अहिले वार्षिक १५ लाख रुपैयाँभन्दा बढी खुद आम्दानी दिने उद्यम बनेको छ । विदेशमा रोजगारी खोजिरहेका युवाका लागि गुप्ताको यो यात्रा स्वदेशमै सम्भावना खोज्न सकिने एउटा उदाहरण बनेको छ ।



















