फाइल तस्बिर ।काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार गठन भएयता सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रबाट एक अर्ब ३३ करोड रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ ।
सरकारले सीमा क्षेत्रमा निगरानी र सुरक्षा व्यवस्था कडा बनाउने नीति लिएसँगै सशस्त्र प्रहरीले अवैध सामानको ओसारपसार, लागुऔषध कारोबार, हातहतियार तस्करी तथा अन्य आपराधिक गतिविधिविरुद्ध कारबाही तीव्र पारेको हो । सशस्त्र प्रहरीका अनुसार २०८२ चैत १३ गतेदेखि २०८३ कात्तिक १ गतेसम्मको अवधिमा एक अर्ब ३३ करोड २६ लाख ९१ हजार ५९९ रुपैयाँ बराबरका अवैध सामग्री बरामद गरिएको छ ।
यस अवधिमा १७ नाल अवैध हातहतियार बरामद भएका छन् भने हातहतियारसम्बन्धी गतिविधिमा संलग्न आठ जना पक्राउ परेका छन् । त्यसैगरी, लागुऔषध कारोबारमा संलग्न ४२१ जनालाई पक्राउ गरिएको छ । उनीहरूको साथबाट गाँजा, चरेस, अफिम, खैरो हेरोइन, विभिन्न प्रकारका ट्याब्लेट तथा इन्जेक्सनलगायत लागुऔषध बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणतर्फ पनि सशस्त्र प्रहरीले सक्रियता बढाएको छ । उक्त अवधिमा बेचबिखन तथा ओसारपसारको जोखिममा परेका १६७ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ११८ जना बालबालिका छन् । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न ९१ जनालाई पक्राउ गरिएको छ ।
सीमा अतिक्रमण नियन्त्रण तथा दशगजा क्षेत्रको संरक्षणका लागि पनि विभिन्न अभियान सञ्चालन गरिएको छ । यसक्रममा दशगजा क्षेत्रका ३५ स्थानमा रहेका २३७ वटा संरचना हटाइएको छ । त्यस्तै, १७ स्थानमा अतिक्रमण गरी खेतीपाती गरिएको ७।४४८ बिघा जग्गाबाट खेती हटाइएको सशस्त्रले जनाएको छ ।
सीमा क्षेत्रको सरसफाइलाई समेत प्राथमिकता दिँदै २०४ स्थानमा ९४.५८८ किलोमिटर क्षेत्र सरसफाइ गरिएको सशस्त्रको भनाइ छ । सीमावासीसँगको सम्बन्ध सुदृढ बनाउने र सीमा सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यस अवधिमा दुई हजार ८०६ वटा कार्यक्रम सञ्चालन गरिएका छन् ।
नागरिकलाई सेवा तथा सहयोग पुर्याउन स्थापना गरिएका १४१ सहायता कक्षबाट तीन लाख ४९ हजार ९०८ जना लाभान्वित भएका छन् । त्यसैगरी, १३ वटा पर्यटक सहायता कक्षमार्फत १० हजार ६५४ जनाले सेवा लिएका छन् ।
सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण, सीमा सुरक्षाको प्रभावकारिता वृद्धि र सीमावासीलाई सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले सशस्त्र प्रहरीले निगरानी तथा कारबाहीलाई निरन्तरता दिएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले बताए ।

























