
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूलाई नतर्साउन चेतावनी दिएका छन् । सोमबार साँझ ६ बजे सामाजिक सञ्जालमार्फत उनले आफूलाई तर्साउने धेरै आए पनि तर्सिने बानी नपरेको बताएका हुन् ।
उनले लेखेका छन्, ‘अहिले ठीक १८:०० बजेको छ । तर्साउने धेरै आए, तर्सिने बानी परेन ।’
आइतबार पार्टी केन्द्रीय कार्यालयमा विशेष सम्बोधन गर्दै सभापति थापाले सरकारको आलोचना गरेका थिए । त्यसपछि आइतबार साँझ प्रधानमन्त्री बालेन साहले नाम उल्लेख नगरी ‘एक-दुई जनाले उम्किन्छु भनेर सपना नदेखे हुन्छ’ भन्दै फेसबुकमा स्टाटस लेखेका थिए ।
यसैबीच, कांग्रेसको आधिकारिकतासम्बन्धी विषयमा इनम सापकोटाको बयान भन्दै गगन थापा पक्षले करोडौँ रुपैयाँ दिएको आशयका समाचार कतिपय सञ्चार माध्यममा सार्वजनिक भएका छन् ।
सभापति थापाको सचिवालयले भने सरकारका पछिल्ला स्वतन्त्रताविरोधी गतिविधि र घटनाबाट जनताको ध्यान अन्यत्र मोड्न प्रतिपक्षी दलमाथि सुनियोजित रूपमा भ्रम फैलाउने प्रयास भइरहेको भन्दै विज्ञप्ति जारी गरेको छ ।

























