
काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सार्वजनिक वृत्तमा प्रश्न उठेका न्यायाधीशमाथि तत्काल छानबिन गर्न माग गरेको छ । संस्थाले सोमबार विज्ञप्ति जारी गर्दै नैतिकता र आचारसंहिता उल्लंघनको आरोप लागेका न्यायाधीशमाथि संसदीय समितिमार्फत अनुसन्धान गरी आवश्यक निर्णय लिन आग्रह गरेको हो ।
संस्थाले सञ्चारमाध्यममा आएका समाचारमा नाम जोडिएका र सार्वजनिक रूपमा स्पष्टीकरण दिएका न्यायाधीशलाई प्रश्नहरूको निरूपण नभएसम्म न्यायसम्पादनको काममा संलग्न नहुन सुझाव दिएको छ । इमान्दारिता प्रदर्शन गर्दै छानबिन प्रक्रियालाई सहयोग गर्न पनि उसले आग्रह गरेको छ ।
विचाराधीन मुद्दासँग सम्बन्धित पक्ष, बिचौलिया वा प्रभावशाली व्यक्तिसँग भेटघाट गर्नु अथवा सम्पर्कमा रहनु न्यायिक आचारसंहिताका दृष्टिले उचित नहुने संस्थाको भनाइ छ । यस्तो अवस्थामा उठेका प्रश्नको निष्पक्ष छानबिन हुनुपर्ने उसले जनाएको छ ।
‘उठेका प्रश्नहरू गम्भीर प्रकृतिका भएका र न्यायालयको आमूल सुधार अत्यावश्यक रहेको तथ्य जगजाहेर रहेको सन्दर्भमा आक्षेप लागेका व्यक्तिहरूले दिएका सार्वजनिक स्पष्टीकरणले मात्र उठेका प्रश्नहरूको समाधान दिन सक्ने अवस्था देखिँदैन,’ विज्ञप्तिमा भनिएको छ ।
न्यायाधीशमाथि प्रश्न उठेमा अनुसन्धान गर्ने निकाय संसद् रहेको उल्लेख गर्दै ट्रान्सपरेन्सीले तत्काल संसदीय समितिमार्फत छानबिन गर्न माग गरेको छ । साथै, सम्बन्धित न्यायाधीशहरूको सम्पत्तिसमेत छानबिन गर्नुपर्ने संस्थाको माग छ ।



















