
विराटनगर । मोरङको सुनवर्षी नगरपालिकामा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा दुर्घटना भएको छ । दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने साइकलयात्री घाइते भएका छन् ।
सुनवर्षी नगरपालिका–६ कुडेलीस्थित भित्री सडकखण्डमा सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक स्थानीय ५० वर्षीय इन्द्रलाल साहको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चैताबाट कुडेलीतर्फ जाँदै गरेको को ३६ प ९४५८ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका साहलाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो । उनलाई साँझ ७ बजे उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
साइकलयात्री सुनवर्षी नगरपालिका–६ का ५० वर्षीय भीम माझी घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले दुवै सवारीसाधन प्रहरी चौकी बरडंगाको नियन्त्रणमा रहेको जानकारी दिएको छ । सडकको खाल्डाखुल्डीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ ।



















