
विराटनगर । मोरङको लेटाङमा धारिलो हतियार चक्कुले घाँटीमा चोट लाग्दा एक युवक घाइते भएका छन् ।
लेटाङ नगरपालिका–३ मिलनचोकस्थित भिक्टोर राईको हार्डवेयर पसलमा काम गर्ने लेटाङ–४ हाटखोलाका ३५ वर्षीय विजय राई घाइते भएका हुन् । प्रहरीका अनुसार मंगलबार दिउँसो करिब २ बजे राईको घाँटीमा धारिलो हतियार चक्कुले चोट लागेको भन्ने खबर प्राप्त भएको थियो ।
खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय लेटाङबाट इन्स्पेक्टर सागर साहको कमान्डमा टोली घटनास्थल पुगेको थियो । प्रहरी पुग्दा राई घाइते अवस्थामा फेला परेका थिए । उनी आफैंले घाँटीमा चक्कुले प्रहार गरेको हुन सक्ने प्रहरीको भनाइ छ ।
राईलाई तत्काल उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले चक्कुसमेत बरामद गरेको छ । घटना के, कसरी र कुन कारणले भएको हो भन्ने खुल्न बाँकी रहेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए ।

























