महँगी र इरान युद्धको मूल्य चुकाउँदै ट्रम्प, अमेरिकी राजनीतिमा डेमोक्र्याटको पुनरागमन

Share this
730shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १८, बुधबार १४:२६

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियतामाथि मतदाताले संसद्को चुनावमार्फत कडा प्रहार गरेका छन् ।

महँगी नियन्त्रण गर्न नसकेको, दैनिक जीवनयापन महँगिएको र इरानसँगको युद्धमा देशलाई अल्झाएको असन्तुष्टि मतमा पोखिँदा ट्रम्पको रिपब्लिकन पार्टीले अमेरिकी संसद्का दुवै सदनको नियन्त्रण गुमाएको छ । डेमोक्र्याटिक पार्टीले सिनेटमा बहुमत फर्काउनुका साथै प्रतिनिधिसभामा पनि अग्रता कायम गरेको छ ।

मंगलबार सम्पन्न मध्यावधि निर्वाचनको प्रारम्भिक नतिजा र अमेरिकी सञ्चारमाध्यमका प्रक्षेपणले ट्रम्प प्रशासनका लागि आगामी दुई वर्ष सहज नहुने संकेत गरेका छन् । एसोसिएटेड प्रेस (एपी)का अनुसार डेमोक्र्याटले सिनेटमा बहुमत हासिल गरेका छन् । प्रतिनिधिसभामा पनि उनीहरूले बहुमत पुर्‍याउने अमेरिकी सञ्चारमाध्यमलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । केही निर्वाचन क्षेत्रको अन्तिम परिणाम आउन बाँकी रहेकाले सिट संख्याको पूर्ण विवरण भने मतगणना सकिएपछि मात्रै स्पष्ट हुनेछ ।

यो परिणाम सामान्य चुनावी हारभन्दा बढी ट्रम्पको नेतृत्व र राजनीतिक कार्यशैलीप्रतिको असन्तुष्टिको अभिव्यक्तिका रूपमा हेरिएको छ । सन् २०२४ मा महँगी नियन्त्रण, आप्रवासन व्यवस्थापन र अपराध न्यूनीकरणको नारासहित सत्ता फर्किएका ट्रम्पले दुई वर्षमै मतदाताको विश्वास कायम राख्न सकेनन् । चुनावी अभियानमा उठाएका मुद्दाभन्दा अहिले नागरिकले भोगिरहेको आर्थिक दबाब र विदेश नीतिको प्रभाव बढी निर्णायक बनेको देखिएको छ ।

रिपब्लिकनका परम्परागत गढ मानिएका टेक्सस र कन्सासमा समेत डेमोक्र्याटले अप्रत्याशित सफलता हात पारेका छन् । टेक्ससमा ट्रम्पको समर्थन पाएका केन प्याक्सटनलाई डेमोक्र्याट जेम्स टालारिकोले पराजित गरेका छन् । सन् १९८८ पछि पहिलोपटक टेक्ससबाट डेमोक्र्याट उम्मेदवार सिनेटमा निर्वाचित भएका हुन् । सन् २०२४ को राष्ट्रपति निर्वाचनमा ट्रम्पले यही राज्यमा कमला ह्यारिसलाई १३.७ प्रतिशत बिन्दुको अन्तरले हराएका थिए ।

टेक्ससको गभर्नर निर्वाचनमा पनि डेमोक्र्याट जिना हिनोहोजाले तीन कार्यकालदेखि पदमा रहेका रिपब्लिकन ग्रेग एबटलाई हराएकी छन् । सन् १९९४ पछि राज्यव्यापी निर्वाचनमा डेमोक्र्याटले सफलता पाउन नसकेको टेक्ससमा तीन दशकभन्दा लामो राजनीतिक खडेरी यसपटक अन्त्य भएको छ ।

कन्सासमा पनि रिपब्लिकनको पकड कमजोर बनेको छ । दुई वर्षअघि ट्रम्पले १६ प्रतिशत बिन्दुभन्दा बढी मतान्तरले जितेको राज्यबाट डेमोक्र्याट उम्मेदवार एडम ह्यामिल्टन सिनेटमा पुगेका छन् । रोयटर्सका अनुसार कन्सासमा ९४ वर्षपछि डेमोक्र्याट उम्मेदवारले सिनेट निर्वाचन जितेका हुन् ।

मेन, आयोवा, दक्षिण क्यारोलिना र उत्तरी क्यारोलिनालगायत राज्यमा पनि डेमोक्र्याटले उल्लेखनीय सफलता पाएका छन् । मेनमा ट्रोय ज्याक्सनले रिपब्लिकन सिनेटर सुसान कोलिन्सलाई पराजित गरेका छन् । जर्जियामा केइशा ल्यान्स बटम्स निर्वाचित भएकी छन् । उनी अमेरिकाको इतिहासमा गभर्नर बन्ने पहिलो अश्वेत महिला बनेकी छन् ।

ट्रम्पले निर्वाचन परिणाम स्वीकार गर्ने बताएका छन् । डेमोक्र्याटहरूले राम्रो चुनावी अभियान सञ्चालन गरेको भन्दै प्रशंसासमेत गरेका छन् । यद्यपि, रिपब्लिकनको हारलाई आफ्नो व्यक्तिगत पराजय मान्न उनले अस्वीकार गरेका छन् । आफू उम्मेदवार भएको भए पार्टीले ठूलो मतान्तरले जित्ने उनको दाबी छ । डेमोक्र्याटले पारित गर्ने विधेयकमा राष्ट्रपतीय भिटो प्रयोग गर्ने चेतावनी पनि उनले दिएका छन् ।

निर्वाचन परिणामको एउटा प्रमुख कारण आर्थिक असन्तुष्टि देखिएको छ । दुई वर्षअघि मूल्यवृद्धि नियन्त्रण गर्ने प्रतिबद्धतासहित ह्वाइट हाउस फर्किएका ट्रम्पलाई अहिले बढ्दो घरखर्चले नै राजनीतिक संकटमा पारेको छ । इन्धन, खाद्यान्न र दैनिक उपभोग्य वस्तुको मूल्यले सर्वसाधारणको बजेट प्रभावित बनाएको छ । पहिले महँगीका लागि बाइडेन प्रशासनलाई जिम्मेवार ठहर गर्ने मतदाताले अहिले त्यसको जवाफ ट्रम्पसँग खोजिरहेका छन् ।

अक्टोबर ८ देखि १२ सम्म गरिएको एपी–एनओआरसी सर्वेक्षणमा ७९ प्रतिशत दर्तावाल मतदाताले जीवनयापनको खर्चसम्बन्धी ट्रम्पको कामप्रति असन्तुष्टि जनाएका थिए । अर्थतन्त्रसम्बन्धी उनको कामबाट ७४ प्रतिशत असन्तुष्ट थिए । अक्टोबर १ मा प्रकाशित अर्को सर्वेक्षणमा ६५ प्रतिशत अमेरिकी वयस्कले अस्वाभाविक महँगीका लागि ट्रम्पका नीतिलाई बढी जिम्मेवार ठहर गरेका थिए ।

एपीसँग कुरा गरेका ट्रम्पका एक समर्थक ५२ वर्षीय सान्चेजले आफ्नो कमाइबाट पहिलेझैं बचत गर्न नसकेको बताएका थिए । इन्धन र अन्य उपभोग्य वस्तुको मूल्य बढ्दा घरखर्च धान्न कठिन भएको उनको भनाइ थियो । ट्रम्पलाई समर्थन गरेका मतदातासमेत आर्थिक अवस्थाप्रति असन्तुष्ट हुन थालेको यसले देखाउँछ ।

आर्थिक दबाबसँगै इरानसँगको युद्ध पनि ट्रम्पका लागि महँगो राजनीतिक मुद्दा बनेको छ । युद्धका कारण तेल आपूर्तिमा अवरोध हुँदा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ । त्यसको प्रत्यक्ष असर अमेरिकी नागरिकको यातायात खर्चदेखि घर तताउने लागतसम्म परेको छ । रोयटर्सका अनुसार डेमोक्र्याट उम्मेदवारहरूले चुनावी अभियानमा युद्ध र त्यसबाट उत्पन्न आर्थिक समस्याको जिम्मेवारी ट्रम्प प्रशासनमाथि लगाएका थिए ।

एपी–एनओआरसीको चुनावअघिको सर्वेक्षणमा ६४ प्रतिशत मतदाताले इरान युद्धलाई प्रमुख चुनावी मुद्दामध्ये एक मानेका थिए । आप्रवासन र अपराधलाई ४५ प्रतिशतले महत्त्व दिएका थिए । यसले ट्रम्पले चुनावी अभियानमा प्राथमिकता दिएका मुद्दाभन्दा मतदाताको वास्तविक चासो फरक रहेको संकेत गरेको छ ।

टेक्ससमा प्याक्सटनको पराजयले उम्मेदवारको व्यक्तिगत छविसमेत निर्णायक बनेको देखाएको छ । सर्वेक्षणमा करिब दुईतिहाइ मतदाताले प्याक्सटनमा सिनेट सदस्य बन्न आवश्यक व्यक्तिगत चरित्र नभएको बताएका थिए । ट्रम्पको समर्थनले उम्मेदवारमाथिका नकारात्मक धारणा हटाउन नसकेको एपीको विश्लेषण छ ।

मध्यावधि निर्वाचनमा राष्ट्रपतिको पार्टीले संसद्मा सिट गुमाउनु अमेरिकी राजनीतिमा नयाँ घटना होइन । राष्ट्रपतिको चारवर्षे कार्यकालको बीचमा हुने यो निर्वाचनले सरकारप्रतिको जनमत परीक्षण गर्छ । प्रतिनिधिसभाका सबै सदस्यको कार्यकाल दुई वर्षको हुने भएकाले प्रत्येक दुई वर्षमा निर्वाचन हुन्छ । सिनेटका सदस्यको कार्यकाल छ वर्षको हुने भएकाले प्रत्येक दुई वर्षमा करिब एकतिहाइ सिटका लागि मतदान हुन्छ ।

दुवै सदन गुमाए पनि ट्रम्पको राष्ट्रपतीय कार्यकाल भने प्रभावित हुने छैन । उनी जनवरी २०२९ सम्मका लागि निर्वाचित भएका हुन् । तर, संसद्को नियन्त्रण गुमेपछि उनको नीतिगत निर्णय कार्यान्वयन गर्ने क्षमता कमजोर हुनेछ । नयाँ संसद्को कार्यकाल जनवरी २०२७ बाट सुरु भएपछि बजेट र कानुन निर्माणका लागि उनले डेमोक्र्याटसँग सहकार्य गर्नुपर्नेछ ।

संसद्मा बहुमत कायम गरेको विपक्षी दलले ट्रम्प प्रशासनका निर्णयमाथि छानबिन र निगरानी बढाउन सक्नेछ । इरान युद्ध, आप्रवासन नीति र भ्रष्टाचारका आरोपमा संसदीय अनुसन्धान अघि बढाउन सकिनेछ । सरकारी अधिकारीको नियुक्ति तथा प्रशासनले अघि सारेका विधेयकमा पनि डेमोक्र्याटले प्रभाव पार्न सक्नेछन् । प्रतिनिधिसभाका डेमोक्र्याटिक नेता हाकिम जेफ्रीज आगामी जनवरीमा सभामुख निर्वाचित हुने सम्भावना छ । उनी निर्वाचित भए अमेरिकी इतिहासमा प्रतिनिधिसभाको सभामुख बन्ने पहिलो अश्वेत व्यक्ति हुनेछन् ।

यो परिणामले ट्रम्पको बाँकी कार्यकाललाई राजनीतिक रूपमा कठिन बनाउने मात्रै नभएर सन् २०२८ को राष्ट्रपति निर्वाचनको तयारीमा समेत प्रभाव पार्नेछ । रिपब्लिकनभित्र नेतृत्व र चुनावी रणनीतिबारे प्रश्न उठ्न सक्छन् भने डेमोक्र्याटले आगामी राष्ट्रपति निर्वाचनका लागि नयाँ ऊर्जा प्राप्त गर्नेछन् ।

दुई वर्षअघि ट्रम्पलाई सत्तामा पुर्‍याउन सहयोग गरेका आर्थिक र राजनीतिक मुद्दा नै अहिले उनको पार्टीका लागि प्रतिकूल बनेका छन् । निर्वाचन जित्न गरिएका वाचा पूरा नभए सत्तारूढ दलले पनि जनमतको मूल्य चुकाउनुपर्छ भन्ने सन्देश मतदाताले दिएका छन् ।

तपाइको प्रतिक्रिया
अनशनरत डा. केसीसँग वार्ता गर्न समिति गठन
पुनर्बीमा कम्पनीको उछालले धान्यो नेप्सेको सामान्य वृद्धि
बीपी प्रतिष्ठानको ४८औँ सञ्चालक परिषद् सभा सम्पन्न
मनोजकुमार केसीको प्रहरी यात्रा : नक्कली भुटानी शरणार्थी प्रकरणदेखि आईजीपीसम्म
आईजीपी प्रकरणमा रास्वपाको हस्तक्षेप रहेको सरकारको स्वीकारोक्ति
कानुनको शासन नै सुशासनको आधारः राष्ट्रपति पौडेल
स्थानीय तह र प्रदेशबाटै सामूहिक स्वास्थ्य बीमा
बर्खास्तीको निर्णयविरुद्ध कानुनी उपचार खोज्दै दानबहादुर कार्की
नेपाल प्रहरीको आईजीपी : कार्की जिम्मेवारीमुक्त, केसी नियुक्त
महँगी र इरान युद्धको मूल्य चुकाउँदै ट्रम्प, अमेरिकी राजनीतिमा डेमोक्र्याटको पुनरागमन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.