नेपाल प्रहरीको आईजीपी : कार्की जिम्मेवारीमुक्त, केसी नियुक्त

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १८, बुधबार १४:३८

काठमाडौं । नेपाल प्रहरीको नेतृत्व परिवर्तन गर्दै सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार कार्कीलाई प्रधानमन्त्री कार्यालय मातहत रहने गरी विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ । उनको स्थानमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोजकुमार केसीलाई आईजीपी नियुक्त गर्ने निर्णय भएको छ । केसी नेपाल प्रहरीको ३४ औँ आईजीपी बनेका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी संगठनको नेतृत्व परिवर्तन गर्ने निर्णय लिएको हो । कार्कीलाई सिधै बर्खास्त नगरी प्रधानमन्त्री कार्यालय मातहत सारिएको छ । पछिल्ला घटनाक्रममा उनको भूमिका विवादित बनेपछि सरकारले यस्तो विकल्प रोजेको बताइएको छ ।

विशेषगरी प्रहरी परिचालन, कमाण्ड कन्ट्रोल र राजनीतिक नेतृत्वबाट आएका निर्देशन कार्यान्वयन गर्ने शैलीलाई लिएर कार्कीको कार्यकालमा प्रश्न उठ्दै आएको थियो । पछिल्लो समय पत्रकार तथा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी परिचालन गरी पक्राउ गर्ने घटनाले पनि उनी थप विवादमा तानिएका थिए ।

प्रधानमन्त्रीको सचिवालयका व्यक्तिहरूको निर्देशनमा प्रहरी परिचालन भएको र त्यसमा कार्कीको भूमिका रहेको विवरण सार्वजनिक भएका थिए । अदालतले कतिपय गिरफ्तारीलाई गैरकानुनी ठहर गरेपछि प्रहरी नेतृत्वमाथि थप प्रश्न उठेको थियो ।

निर्वाचन प्रहरीका लागि पोसाक खरिद प्रक्रियामा अनियमितता भएको आरोपसमेत कार्कीमाथि लागेको थियो । प्रहरीको कमाण्ड प्रभावकारी हुन नसकेको र संगठनको नेतृत्वमा राजनीतिक हस्तक्षेप बढेको भन्दै उनको आलोचना भइरहेको थियो ।

कार्कीलाई गत वर्ष कात्तिक २४ गते तत्कालीन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले आईजीपी नियुक्त गरेको थियो । उनले कात्तिक २६ गतेदेखि प्रहरी संगठनको नेतृत्व सम्हालेका थिए । २०८२ भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा उनले काठमाडौं उपत्यकाको प्रहरी कमाण्ड सम्हालेका थिए ।

नयाँ आईजीपी नियुक्त भएका मनोज केसी हाल नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुखका रूपमा कार्यरत छन् । मन्त्रिपरिषद्को निर्णयसँगै उनले प्रहरी संगठनको नेतृत्व सम्हाल्ने बाटो खुलेको छ ।

यसअघि पनि सरकारले प्रहरी प्रमुखलाई पदबाट हटाएर प्रधानमन्त्री मातहतको सुरक्षा जिम्मेवारीमा राख्ने अभ्यास गरेको थियो । अच्युतकृष्ण खरेललाई आईजीपीबाट हटाएर राष्ट्रिय अनुसन्धान विभागमा सरुवा गरी ध्रुवबहादुर प्रधानलाई प्रहरी प्रमुख बनाइएको थियो ।

तर, दरबन्दी नै नभएको स्थानमा सरुवा गरिएको भन्दै खरेल सर्वोच्च अदालत पुगेका थिए । अदालतबाट मुद्दा जितेपछि उनी पुनः आईजीपीमा फर्किएका थिए । त्यसपछि प्रधानलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको थियो ।

त्यस्तै, सुडान घोटाला प्रकरणमा मुछिएपछि तत्कालीन आईजीपी रमेश चन्द ठकुरीलाई पनि सुरक्षा सल्लाहकारको जिम्मेवारीमा सरुवा गरिएको थियो । उनको स्थानमा रवीन्द्रप्रताप शाहलाई प्रहरी महानिरीक्षक बनाइएको थियो ।

कार्कीलाई पदबाट हटाएर केसीलाई प्रहरी संगठनको नेतृत्व सुम्पिने पछिल्लो निर्णयले प्रहरी नेतृत्व परिवर्तनको पुरानो अभ्यासलाई फेरि चर्चामा ल्याएको छ । यसले प्रहरी संगठनमा राजनीतिक हस्तक्षेप तीव्र बनेको देखाउँछ ।

तपाइको प्रतिक्रिया
हेलिकोप्टर दुर्घटना छानबिन गर्न समिति
मोरङमा सहकारीको कोल्ड स्टोरमा तस्करीको माला, सशस्त्रद्वारा बरामद
अनशनरत डा. केसीसँग वार्ता गर्न समिति गठन
पुनर्बीमा कम्पनीको उछालले धान्यो नेप्सेको सामान्य वृद्धि
बीपी प्रतिष्ठानको ४८औँ सञ्चालक परिषद् सभा सम्पन्न
मनोजकुमार केसीको प्रहरी यात्रा : नक्कली भुटानी शरणार्थी प्रकरणदेखि आईजीपीसम्म
आईजीपी प्रकरणमा रास्वपाको हस्तक्षेप रहेको सरकारको स्वीकारोक्ति
कानुनको शासन नै सुशासनको आधारः राष्ट्रपति पौडेल
स्थानीय तह र प्रदेशबाटै सामूहिक स्वास्थ्य बीमा
बर्खास्तीको निर्णयविरुद्ध कानुनी उपचार खोज्दै दानबहादुर कार्की
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.