
विराटनगर । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कोशी प्रदेशमा क्रिकेट खेलाडी छनोट प्रक्रिया विवादमा परेको छ । प्रदेशका १४ जिल्लाका खेलाडीलाई एउटै नकआउट प्रतियोगिताका आधारमा छनोट गर्न लागिएको भन्दै नयाँ जिल्ला र पहाडी क्षेत्रका खेलाडीले अवसरबाट वञ्चित हुनुपर्ने अवस्था आउन सक्ने गुनासो गरेका छन् ।
कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव विप्लव घोषका अनुसार खेलकुदको समय सीमा र उपलब्ध बजेटलाई ध्यानमा राख्दै नकआउट प्रणालीबाट खेलाडी छनोट गर्न लागिएको हो । प्रदेशका १४ जिल्लामध्ये क्रिकेट संघमा आबद्ध पाँच र नयाँ जिल्लाका रूपमा थपिएका चार गरी नौ जिल्लाका खेलाडीबीच प्रतिस्पर्धा गराएर छनोट गरिने उनले बताए ।
सदस्यसचिव घोषका अनुसार कात्तिक २६ गतेदेखि छनोट प्रक्रिया सुरु हुनेछ । पहिलो चरणमा छनोट भएका खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने र त्यसमा उत्कृष्ट खेलाडी थप्दै अन्तिम टोली तयार पारिने छ । नकआउट चरणमा एउटै खेलमा पराजित हुने खेलाडीले समेत आफ्नो प्रतिभा देखाउने अवसर पाउने उनको भनाइ छ ।
तर, राष्ट्रिय क्रिकेट टोलीको छनोट समितिको जिम्मेवारी सम्हालिसकेका छनोटकर्ता विजय शर्माले एउटै खेलका आधारमा खेलाडी छनोट गर्नु उपयुक्त नहुने बताएका छन् । उनका अनुसार जिल्लाबाट उत्कृष्ट १४ खेलाडी छनोट गरी प्रदेशस्तरीय प्रतिस्पर्धामा सहभागी गराउनुपर्ने भए पनि एउटै नकआउट खेलबाट खेलाडीको वास्तविक क्षमता पहिचान गर्न कठिन हुन्छ ।
‘एउटै खेलबाट खेलाडीको पहिचान गर्न गाह्रो हुन्छ । यस्तो अवस्थामा खेलाडीले आफ्नो प्रतिभा उजागर गर्न सक्दैनन्,’ शर्माले भने, ‘कम्तीमा दुई समूहमा विभाजन गरेर राउन्ड रोबिनका आधारमा खेलाउँदा उपयुक्त हुन्छ । मोरङ, सुनसरी र झापामा मैदान भएकाले छनोटका लागि केही दिन बढी समय लागे पनि योग्य खेलाडी अवसरबाट वञ्चित हुनुहुँदैन ।’
उनले प्रदेश क्रिकेट संघले खेलाडी छनोटमा जिम्मेवार भूमिका खेल्नुपर्ने बताए । एउटै खेलका आधारमा उत्कृष्ट खेलाडी छनोट हुने वा प्रतिभावान् खेलाडी बाहिरिने अवस्था आउन नदिनुपर्ने उनको भनाइ छ । नयाँ जिल्ला खोटाङ, पाँचथर र ताप्लेजुङका खेलाडीले समेत पर्याप्त अवसर नपाउन सक्ने उनले चिन्ता व्यक्त गरे ।
नयाँ जिल्ला खोटाङका अध्यक्ष तथा छनोट संयोजक रूपन राईले पनि नकआउट प्रणालीबाट खेलाडी छनोट गर्दा पहाडी जिल्लाका खेलाडीलाई अन्याय हुन सक्ने बताए । पहिलोपटक छनोट प्रक्रियामा सहभागी हुन लागेका खेलाडी दबाबमा पर्न सक्ने भन्दै उनले लिग प्रणाली वा कम्तीमा राउन्ड रोबिनका आधारमा प्रतिस्पर्धा गराउनुपर्ने माग गरे ।
‘राम्रो ब्याट्सम्यान एउटै बलमा आउट हुन सक्छ । यस्तो अवस्थामा एउटै खेलबाट कसरी न्याय हुन्छ ?’ राईले प्रश्न गरे । उनले पहाडी जिल्लाका खेलाडीलाई मैदान, अभ्यास र यातायातको असहजतासमेत रहेको उल्लेख गर्दै छनोटको तालिका बनाउँदा भौगोलिक अवस्थालाई ध्यान दिन आग्रह गरे ।
प्रदेश क्रिकेट संघका अनुसार कात्तिक २६ देखि सुरु हुने छनोट प्रतियोगिता ३० गतेसम्म सञ्चालन हुनेछ । नकआउट चरणको पहिलो खेल खोटाङ र मोरङबीच हुनेछ । दोस्रो खेल झापा र पाँचथरबीच हुनेछ । त्यसैगरी उदयपुरले बाई पाएपछि कात्तिक २७ गते इलाम र ताप्लेजुङबीचको खेलको विजेतासँग कात्तिक २८ गते प्रतिस्पर्धा गर्नेछ । सोही दिन धनकुटा र सुनसरीबीच पनि खेल हुनेछ ।
दसौँ राष्ट्रिय खेलकुदका लागि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले आठ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । खेलाडी छनोट र तयारीको जिम्मेवारी कोशी प्रदेश खेलकुद विकास बोर्डले सम्हाल्नेछ । यसअघि नवौँ राष्ट्रिय खेलकुदका लागि प्रदेश सरकारले नौ करोड रुपैयाँ विनियोजन गरेको थियो । तर, अहिलेको बजेट तयारी र सहभागिताका लागि अपुग हुने भन्दै बोर्डले सरकारसँग थप रकम माग गरेको जनाएको छ ।

























