
विराटनगर । राति १०ः३० बजेसम्म मात्रै होटेल तथा रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिने जिल्ला प्रशासन कार्यालय मोरङको निर्देशन अव्यवहारिक भएको भन्दै विराटनगरका होटेल व्यवसायी र अधिकारकर्मीले समय सीमा पुनरावलोकन गर्न माग गरेका छन् ।
बुधबार होटेल, रेस्टुरेन्ट तथा बार व्यवसायी र अधिकारवादी संस्था साझा पहल समूहले विराटनगर महानगरपालिकाकी कार्यवाहक प्रमुख शिल्पा निराला कार्कीलाई ज्ञापनपत्र बुझाउँदै प्रशासनको निर्णयप्रति असन्तुष्टि जनाएका हुन् ।
ज्ञापनपत्रमा होटेल, रेस्टुरेन्ट, गजल, स्पा, क्लब तथा लाउन्जजस्ता रात्रिकालीन व्यवसायलाई राति १० बजेभित्र गेट बन्द गर्न र १०ः३० बजेसम्म ग्राहकलाई बिदा गरिसक्नुपर्ने प्रशासनको निर्देशन व्यावहारिक नभएको उल्लेख गरिएको छ । चाडपर्वको मुख्य समयमा यस्तो कडा समय सीमा लागू गर्दा व्यवसायमा ठूलो आर्थिक नोक्सानी हुनुका साथै व्यवसाय गर्ने स्वतन्त्रतासमेत प्रभावित हुने उनीहरूको भनाइ छ ।
व्यवसायीहरूले गत कात्तिक १७ गते राति विराटनगर–३ स्थित ‘फिल गुड एन्ड ग्रिल’मा प्रहरीले गरेको हस्तक्षेपप्रति पनि आपत्ति जनाएका छन् । महानगरपालिका र प्रशासनबीच निश्चित समयसम्म व्यवसाय सञ्चालन गर्न दिने समझदारी भए पनि प्रहरीले राति ११ः३० बजे बिना पूर्वसूचना प्रवेश गरी सञ्चालक निर्जलकुमार श्रेष्ठसहित दुई कर्मचारीलाई पक्राउ गरेर रातभर थुनामा राखेको उनीहरूले बताएका छन् ।
साझा पहल समूहका संयोजक वसन्त अधिकारीसहितका व्यवसायी तथा अधिकारकर्मीले रात्रिकालीन व्यवसायलाई सुरक्षित, मर्यादित र भयमुक्त वातावरणमा सञ्चालन गर्ने व्यवस्था मिलाउन महानगरपालिकाको अभिभावकीय भूमिका माग गरेका छन् । उनीहरूले राति १२ बजेसम्म व्यवसाय सञ्चालन गर्न दिनुपर्ने र प्रहरीको अनावश्यक धरपकड तत्काल रोक्नुपर्ने बताएका छन् ।
ज्ञापनपत्र बुझ्दै कार्यवाहक प्रमुख कार्कीले व्यवसायीहरूले उठाएका समस्या र मागबारे सम्बन्धित निकायसँग छलफल गरी उचित निकास निकाल्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

























