
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको विशेष महाधिवेशन र १५औं महाधिवेशनको वैधानिकतामाथि उठेका प्रश्नलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित दुष्प्रचार भन्दै प्रतिवाद गरेको छ ।
कांग्रेस महामन्त्री प्रदीप पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै संविधान, प्रचलित कानुन र पार्टी विधानअनुसार लोकतान्त्रिक विधिबाट महाधिवेशन सम्पन्न भएकाले त्यसको वैधानिकतामाथि प्रश्न उठाउनु निरर्थक रहेको बताएका छन् । महाधिवेशन प्रक्रियालाई विवादित बनाउने प्रयासले पार्टीका आमसदस्य र लाखौं शुभेच्छुकको विश्वास डगमगाउन नसक्ने कांग्रेसको दाबी छ । पार्टीले यस्ता गतिविधिलाई सुनियोजित षड्यन्त्रको संज्ञा दिँदै त्यसको प्रतिवाद गरेको हो ।
कांग्रेसले पार्टी र नेतृत्वविरुद्ध आधारहीन तथा कपोलकल्पित विषय उठाएर कृत्रिम भाष्य निर्माण गर्न खोजिएको आरोपसमेत लगाएको छ । प्रतिपक्षले सरकारका गतिविधिमाथि प्रश्न उठाउँदा त्यसलाई कमजोर पार्ने उद्देश्यले यस्ता विषय अघि सारिएको महामन्त्री पौडेलको भनाइ छ ।
विज्ञप्तिमा सरकारका गलत कामकारबाहीमाथि प्रश्न उठाउँदा सरकार संरक्षित गिरोह अत्तालिएको आरोप लगाइएको छ । आफ्ना कमजोरी ढाकछोप गर्न र सार्वजनिक बहसलाई अन्यत्र मोड्न महाधिवेशनको वैधानिकतामाथि विवाद सिर्जना गरिएको कांग्रेसको दाबी छ ।
पार्टीले आफ्ना नेता तथा कार्यकर्तालाई यस्ता भ्रमपूर्ण प्रचारबाट प्रभावित नभई जनसरोकारका मुद्दा, विधिको शासन र नागरिक स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिन आह्वान गरेको छ । साथै, राजनीतिक प्रतिपक्षको भूमिका कमजोर पार्ने प्रयास स्वीकार्य नहुने भन्दै कांग्रेसले भय र भ्रमको शासन’ अन्त्य गर्न पनि आग्रह गरेको छ ।



























