
काठमाडौं । तिहार र छठ पर्वमा विद्युत् आपूर्ति नियमित बनाउन तथा त्यस लगत्तै सुरु हुने सुख्खायाममा हुन सक्ने विद्युत् अभाव व्यवस्थापन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणलाई पूर्वतयारी तीव्र पार्न निर्देशन दिएका छन् ।
बुधबार प्राधिकरण सञ्चालक समितिको बैठकअघि कार्यकारी निर्देशक तथा उच्च अधिकारीहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले चाडपर्वका समयमा विद्युत् माग बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै माग र आपूर्तिको पूर्वानुमान तथा विश्लेषण गरी आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।
उनले तिहार तथा छठ पर्वमा कुनै पनि क्षेत्रमा अनावश्यक विद्युत् अवरोध हुन नदिन र मागअनुसार पर्याप्त विद्युत् उपलब्ध गराउने व्यवस्था सुनिश्चित गर्न स्पष्ट निर्देशन दिए ।
त्यसैगरी, आगामी सुख्खायाममा विद्युत् आपूर्तिलाई भरपर्दो र नियमित बनाउन आन्तरिक उत्पादन तथा विद्युत् आयातको सम्भावनासमेत विश्लेषण गर्न उनले प्राधिकरणलाई आग्रह गरे ।
सुख्खायाममा हुन सक्ने विद्युत् माग र उपलब्धताको यथार्थ मूल्यांकन गरी आपूर्ति व्यवस्थापनका लागि तत्काल चाल्नुपर्ने कदमसहित विस्तृत कार्ययोजना तयार गर्न मन्त्री श्रेष्ठले निर्देशन दिएका छन् । उक्त कार्ययोजना आगामी बैठकमा प्रस्तुतीकरणसहित पेस गर्नसमेत उनले आग्रह गरेका छन् ।



















