
काठमाडौं । तिहार, नेपाल संवत् र छठ पर्वका बेला हुनसक्ने आपराधिक गतिविधि तथा सुरक्षा चुनौती नियन्त्रण गर्न नेपाल प्रहरीले देशव्यापी प्रहरी परिचालन गरेको छ । चाडपर्वको समयमा चोरी, लुटपाट, जुवातास, झैझगडा, आगलागी र पटका आतसबाजीबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न ५० हजारभन्दा बढी प्रहरी परिचालन गरिएको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार तिहारदेखि छठको भोलिपल्टसम्म लागू हुने गरी विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको छ । जिल्ला सुरक्षा समिति तथा स्थानीय प्रशासनसँग समन्वय गरेर तयार पारिएको योजनाले सार्वजनिक सुरक्षा, बजार व्यवस्थापन, यातायात सञ्चालन र सम्भावित अपराध नियन्त्रणलाई प्राथमिकता दिएको छ ।
चाडपर्वका बेला मानिसको आवतजावत र जमघट बढ्ने भएकाले प्रहरीले सार्वजनिक स्थलदेखि आवासीय क्षेत्रसम्म निगरानी बढाएको छ । देउसीभैलो, मेला तथा सांस्कृतिक कार्यक्रम हुने स्थानमा सादा पोसाकका प्रहरी परिचालन गरिएका छन् । जुवातास, मादक तथा लागुपदार्थ सेवन, होहल्ला र झैझगडा हुनसक्ने क्षेत्रलाई विशेष निगरानीमा राखिएको प्रवक्ता काफ्लेले बताए ।
प्रहरीले परम्परागत गस्तीलाई प्रविधिसँग जोडेर सुरक्षा निगरानी गर्ने भएको छ । यसका लागि सीसीटीभी, बडी वार्न क्यामेरा, ड्रोन र तालिमप्राप्त कुकुरसमेत प्रयोग गरिनेछ । भिडभाड हुने सार्वजनिक स्थल र मेला क्षेत्रमा ५० भन्दा बढी ड्रोनबाट निगरानी गर्ने तयारी छ । विभिन्न स्थानमा चेकप्वाइन्ट, कमान्ड पोस्ट, आकस्मिक जाँच तथा पेट्रोलिङलाई पनि तीव्र बनाइएको प्रहरीले जनाएको छ ।
तिहारमा पटका, भुइँचम्पा र झिरझिरेजस्ता विस्फोटक सामग्रीको प्रयोगबाट हुनसक्ने दुर्घटना रोक्न प्रहरीले सीमा क्षेत्रमा समेत निगरानी बढाएको छ । यस्ता सामग्रीको आयात, बिक्रीवितरण र प्रयोग नियन्त्रण गर्न सीमा तथा भन्सार क्षेत्रमा कडाइ गरिएको काफ्लेले बताए । पटका पड्काउने गतिविधिलाई शून्यमा झार्ने प्रहरीको लक्ष्य छ । तर, जताततै पटका पड्किएको आवाज सुन्न सकिन्छ ।
चाडपर्वको मौका छोपेर बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने, कालोबजारी गर्ने र खाद्यवस्तुमा मिसावट गर्ने व्यापारीमाथि पनि निगरानी बढाइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँगको सहकार्यमा बजार अनुगमन भइरहेको प्रहरीले जनाएको छ । म्याद गुज्रिएका तथा गुणस्तरहीन वस्तुको बिक्री रोक्न व्यापारिक केन्द्र, भण्डारणस्थल र खाद्य सामग्री बिक्री हुने स्थानमा समेत अनुगमन गरिने छ।
यात्रु सुरक्षालाई लक्षित गर्दै देशभर ४०८ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । सीमावर्ती क्षेत्रबाट नेपाल फर्किने नागरिकलाई ठगी तथा लुटपाटबाट जोगाउन थप १०८ स्थानमा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको प्रवक्ता काफ्लेले जानकारी दिए ।
सवारी दुर्घटना न्यूनीकरणका लागि लामो दूरीका सवारीसाधनमा दुईजना चालक राखेको वा नराखेको जाँच गरिनेछ । सवारी छुट्ने स्थानमै चालकको अनुमतिपत्र, मादक तथा लागुपदार्थ सेवनको अवस्था र सवारीसाधनको यान्त्रिक अवस्था परीक्षण गरिने प्रहरीको योजना छ ।
तिहारमा घर खाली गरेर बाहिर जाने नागरिकलाई लक्षित गरी चोरी नियन्त्रणका उपायसमेत अघि सारिएको छ । घर लामो समय खाली रहने सूचना सामाजिक सञ्जालमा नराख्न, नजिकको प्रहरी कार्यालय र छिमेकीलाई जानकारी दिन तथा बहुमूल्य सामान र गरगहना घरमा नराख्न प्रहरीले आग्रह गरेको छ । सम्भव भएसम्म घरमा सीसीटीभी जडान गर्न पनि सुझाव दिइएको छ ।
लक्ष्मीपूजाका बेला दियो र मैनबत्ती बाल्दा आगलागीको जोखिम हुने भएकाले विशेष सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ । आगो सल्कन सक्ने पर्दा, कपडा तथा अन्य सामग्रीबाट टाढा दियो बाल्न, बालबालिकालाई प्रज्वलनशील सामग्रीबाट टाढा राख्न र प्रयोगमा नरहेका विद्युतीय उपकरण बन्द गर्न भनिएको छ ।
आगलागी, दुर्घटना तथा अन्य आकस्मिक घटनाको तत्काल उद्धार र व्यवस्थापनका लागि क्विक रेस्पोन्स टिम (क्यूआरटी) र सीआरभी टोलीलाई तयारी अवस्थामा राखिएको छ । महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा लैंगिक र यौनिक अल्पसंख्यक समुदायको सुरक्षालाई समेत योजनामा प्राथमिकता दिइएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्ता काफ्लेले चाडपर्वलाई मनोरञ्जनका नाममा जोखिमपूर्ण गतिविधि गर्ने अवसरका रूपमा नलिन आग्रह गरेका छन् । उनका अनुसार पटका पड्काउँदा हुने क्षति र दुर्घटनाले क्षणभरको रमाइलोका लागि जीवनभरको दुःख निम्त्याउन सक्छ ।
कुनै पनि शंकास्पद गतिविधि, चोरी, लुटपाट, दुर्व्यवहार वा अन्य आपराधिक घटना देखिएमा तत्काल प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न प्रहरीले आग्रह गरेको छ । प्रहरीले नागरिकको सहयोग र सावधानीले मात्रै चाडपर्वलाई सुरक्षित, शान्तिपूर्ण र मर्यादित बनाउन सकिने जनाएको छ ।

























