
काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको रौनक आज (शुक्रबार)देखि सुरु भएको छ । तिहारको पहिलो दिन धनतेरस मनाइँदैछ । धन, स्वास्थ्य र समृद्धिको कामनासहित मनाइने धनतेरसमा नयाँ गरगहना, सुनचाँदीका सिक्का तथा धातुका भाँडाकुँडा किनेर घरमा भित्राउने परम्परा छ ।
धनतेरसलाई धन त्रयोदशी पनि भनिन्छ । संस्कृतका ‘धन’ र ‘तेरस’ शब्दबाट बनेको यो पर्व कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिमा मनाइन्छ । धार्मिक मान्यताअनुसार यस दिन नयाँ वस्तु खरिद गरेर घरमा भित्राउँदा धनसम्पत्ति र समृद्धि बढ्ने विश्वास गरिन्छ ।
धनतेरसमा सुन, चाँदी र तामाका भाँडाकुँडाका अतिरिक्त कौडी, कमल गट्टा, बेसार, कुचो, बिमिरो, धनियाँको दाना, श्रीयन्त्र, स्वस्तिक चिह्न, रातो कपडा र पानलगायत सामग्री किन्नु पनि शुभ मानिन्छ । यी सामग्रीलाई देवी लक्ष्मीको प्रतीकका रूपमा लिने धार्मिक विश्वास छ । यद्यपि, नयाँ वस्तु खरिद गर्दा आफ्नो आर्थिक अवस्थाअनुसार गर्नुपर्ने मान्यता छ ।
यस दिन साँझ देवी लक्ष्मीको आराधना गर्नुका साथै यमराजका नाममा दीपदान गर्ने चलन छ । घरको मूलढोका र आँगनमा दीप प्रज्वलन गरी परिवारका सदस्यको नाममा दक्षिणतर्फ फर्केर दीपदान गर्ने परम्परा छ । यसो गर्दा परिवारका सदस्यलाई अकाल मृत्युबाट जोगाउन सकिने र सुख, शान्ति तथा दीर्घायु प्राप्त हुने धार्मिक विश्वास छ ।
धनतेरस भगवान् धन्वन्तरीसँग पनि सम्बन्धित पर्व हो । समुद्र मन्थनका क्रममा भगवान् धन्वन्तरी अमृतकलशसहित प्रकट भएको दिनका रूपमा यस तिथिलाई लिइन्छ । धन्वन्तरीलाई आयुर्वेद र स्वास्थ्यका देवताका रूपमा पुज्ने गरिन्छ । त्यसैले यस दिन धनसम्पत्तिसँगै सुस्वास्थ्य र दीर्घायुको कामना गर्ने परम्परा पनि छ ।
पौराणिक मान्यताअनुसार समुद्र मन्थनबाट देवी लक्ष्मी पनि प्रकट भएकी थिइन् । लक्ष्मीको आगमनलाई धन र समृद्धिको प्रतीक मान्दै यस दिन नयाँ सामग्री खरिद गरेर घरमा भित्राउने चलन सुरु भएको धार्मिक विश्वास छ । धनतेरसमा घरको सरसफाइ गरी लक्ष्मीको स्वागतका लागि तयारीसमेत गरिन्छ ।
तिथिको घटबढका कारण यस वर्ष तिहारको पर्वक्रममा केही परिवर्तन भएको छ । सूर्योदयका समयमा द्वादशी तिथि रहे पनि बिहान ११:१० बजेपछि त्रयोदशी सुरु हुने भएकाले शुक्रबार धनतेरस मनाउन लागिएको हो । त्रयोदशी तिथि शनिबार बिहान १०:४७ बजेसम्म रहने पण्डित नारायणप्रसाद दुलालले बताएका छन् ।
त्रयोदशीकै दिन गरिने कागपूजा र धन्वन्तरी जयन्ती भने शनिबार परेको छ । आइतबार बिहान चतुर्दशी तिथिमा कुकुर पूजा र सोही दिन साँझ लक्ष्मीपूजा गरिनेछ । सोमबार गाईपूजा (गाई तिहार), मंगलबार गोवर्धनपूजा (गोरु तिहार) र कात्तिक २५ गते बुधबार भाइटीका परेको छ ।
सामान्यतया पाँच दिन मनाइने तिहार यसपटक तिथिको घटबढका कारण छ दिनसम्म मनाइँदैछ । तिहारको सुरुवातसँगै बजारमा किनमेलको चहलपहल पनि बढेको छ । धनतेरसलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले बबरमहलस्थित कार्यालयबाट सुनचाँदीका सिक्का बिक्री गरिरहेको छ ।

























