
विराटनगर । नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले विराटनगर महानगरपालिका–५ स्थित बालसंसार बोर्डिङ इङ्लिस स्कुलले तिहारको अवसरमा देउसी–भैलो कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा विद्यालयका विद्यार्थीले विभिन्न समूह बनाएर परम्परागत देउसी–भैलो प्रस्तुत गरेका थिए । नेपाली मौलिक पोसाकमा सजिएका विद्यार्थीले देउसी–भैलोका भाकासँगै तिहारसम्बन्धी गीतमा आकर्षक नृत्य प्रस्तुत गर्दै वातावरणलाई उल्लासमय बनाएका थिए ।
विद्यार्थीका सांस्कृतिक प्रस्तुतिमा नेपाली समाजको मौलिकता, चाडपर्वको महत्त्व र पुस्तौँदेखि चलिआएका परम्पराको झल्को देखिन्थ्यो । कार्यक्रममा विद्यार्थीले मनोरञ्जनसँगै आफ्नो कला, संस्कृति र रीतिरिवाजलाई व्यवहारमै बुझ्ने अवसरसमेत पाएका थिए ।

विद्यालयका प्रिन्सिपल खड्ग राईले नेपाली समाजका हरेक चाडपर्वलाई विद्यालयले विशेष महत्त्वका साथ मनाउँदै आएको बताए । विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानमा मात्र सीमित नराखी नेपाली भाषा, संस्कृति, संस्कार र परम्पराबारे व्यावहारिक ज्ञान दिने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गर्दै आएको उनले बताए ।
यस्ता सांस्कृतिक गतिविधिले नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचान र परम्परासँग जोड्नुका साथै आपसी सद्भाव, सहकार्य र सामूहिक भावनाको विकासमा समेत सहयोग पुग्ने राईको विश्वास छ । विद्यालयले नियमित पठनपाठनसँगै अतिरिक्त क्रियाकलाप र सांस्कृतिक कार्यक्रमलाई पनि प्राथमिकता दिँदै आएको छ ।


























