
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालबीच आज भेटवार्ता भएको छ। राष्ट्रपति भवनमा भएको भेटमा संसद्को आगामी अधिवेशन आह्वान, संसद्लाई नियमित बनाउने तथा प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा छलफल भएको हो।
सभामुखको सचिवालयका अनुसार भेटका क्रममा राष्ट्रपति पौडेलले संसद्मा पर्याप्त बहस र विचारविमर्श हुनुले लोकतान्त्रिक प्रणालीलाई थप बलियो बनाउने धारणा राखेका थिए। उनले संसद्मा हुने छलफलले लोकतान्त्रिक अभ्यासलाई सुदृढ तुल्याउने उल्लेख गर्दै सरकारका कामकारबाहीबारे पनि चासो व्यक्त गरेका थिए।
जवाफमा सभामुख अर्यालले संसद्को प्रभावकारी सञ्चालनका लागि राजनीतिक दलहरूसँग छलफल गर्नुपर्ने सुझाव प्राप्त भएको जानकारी गराएका थिए।
भेटमा संघीय संसद्ले आयोजना गर्न लागेको अन्तरव्यवस्थापिका संघ (आईपीयू) अन्तर्गतको दिगो विकाससम्बन्धी स्थायी समितिको एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनबारे पनि सभामुखले राष्ट्रपतिलाई अवगत गराएका थिए।
यसैगरी, तान्जानियाको अरुसामा सम्पन्न आईपीयूको १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुईतिहाइभन्दा बढी मतले पारित भएको विषयमा पनि जानकारी दिइएको थियो।
त्यस अवसरमा सातै प्रदेशका सभामुख, उपसभामुख तथा प्रदेशसभाका अन्य पदाधिकारीसँग राष्ट्रपति र सभामुखबीच सामूहिक भेटघाट तथा छलफल आयोजना गर्ने योजनाबारे समेत सभामुख अर्यालले जानकारी गराएका थिए।

























